२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवको अवसरमा गरिमा रोड रेस प्रतियोगिता गर्ने




काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मंसिर ८ गते शनिवार गरिमा रोड रेस प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ ।

विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको रोड रेस प्रतियोगिता आयोजना गर्न लागेको हो । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुने बैंकले जनाएको छ ।


खुल्लातर्फको १० किलोमिटरमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटरमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु. ७५,०००÷–, रु. ६०,०००÷–, रु. ४५,०००÷–, रु. ३०,०००÷– र रु. १५,०००÷– नगद पुरस्कार प्रदान गरिनेछ ।


प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मिति २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट डब्लुडब्लुडब्लु डट गरिमाबैंक डट कम डट एनपी तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।


२०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले सो अवसरमा काठमाण्डौंमा गरिमा रोड रेस प्रतियोगिता २०८१ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउदैं आईरहेको छ ।


काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

  :