काठमाडौं–नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले पछिल्लो पटक चार्जिङ स्टेशन निर्माणलाई तीब्रता दिएको छ ।
कम्पनीले काठमाडौंको गैह्रीधारा र चितवनमा ठूलो लगानीमा चार्जिङ हब निर्माण गरिरहेको छ भने देशभर ५० फास्ट चार्जर संचालनमा रहेको जनाएको छ । देशका विभिन्न स्थानमा रहेका यी चार्जरमार्फत निर्धक्कका साथ यात्रा गर्न समेत साइमेक्स इंकले आग्रह गरेको छ ।
आगामी दिनमा समेत चार्जर विस्तार कार्य जारी रहने समेत कम्पनीको भनाइ छ । यस अनुसार ४४ डीसी फास्ट चार्जर र ६ स्थानमा एसी फास्ट चार्जर समेत रहेका छन् । डीसी फास्ट चार्जर ३० किलोवाट र एसी फास्ट चार्जर ४० किलोवाट क्षमताका हुनेछन् । कम्पनीका अनुसार बागमती प्रदेश अन्तर्गत गुहेश्वरीका दुई स्थान, कुरिनटारका दुई स्थान र चितवनका चार स्थान तथा अनामनगर, गैह्रीधारा, ललितपुर, सल्लाघारी र सोल्टीमोड गरी १३ स्थानमा डीसी फास्ट चार्जर रहेका छन् ।
लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्जका दुई स्थान, तुलसीपुरका दुई स्थान र बुटवलका तीन स्थानका साथै लमही, घोराही, अमिलिया, प्युठान, भैरहवा र कोहलपुर गरी विभिन्न १३ स्थानमा डीसी फास्ट चार्जर छन् । त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत पोखराका सात स्थान र डुम्रे गरी आठ स्थानमा तथा
कोशी प्रदेश अन्तर्गत इटहरी, विर्तामोड र विराटनगरका दुई दुई स्थान तथा दमक गरी सात स्थानमा यस्ता चार्जर रहेका छन् भने मधेश प्रदेश अन्तर्गत वीरगन्ज, जनकपुर र बर्दिबास गरी तीन स्थानमा यस्ता चार्जर छन् ।
४० किलोवाटको एसी फास्ट चार्जर चाहिं नेपालगन्जको नमस्ते भिलेज रिसोर्ट, तुलसीपुरको होटल वेस्टर्न प्यालेस, धनगढीको होटल रुवस, काठमाडौं मित्रपार्कको होटल ग्रान्ड भ्यु, बीवाईडी विराटनगर सर्भिस सेन्टर र चितवनको अस्टभुजा आयल डिस्ट्रिब्युटरमा रहेका छन् ।
साइमेक्स इंकले देशभर रहेका फास्ट चार्जरमार्फत आफ्नो गाडी चार्ज गर्न र विशेष अवस्थामा कुनै रोड साइड असिस्टेन्स वा इमर्जेन्सी सर्भिस चाहिएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।





प्रतिक्रिया