हेटौंडा । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङस्थित चन्द्रागिरि भञ्ज्याङमा निर्माण गरिएको भ्यु टावरको आज बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक समारोहका बीच उद्घाटन गर्नुभएको छ ।
मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यता र संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको विशेष आतिथ्यतामा भएको भ्यु टावर उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाले भ्युटावर सञ्चालनमा आएपछि थाहा नगरको पर्यटकीय आकर्षण बढ्ने र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै मन्त्री श्रेष्ठले पर्यटन प्रवर्द्धनका लागि थाहा नगरपालिका क्षेत्रका अन्य सम्भावनामा पनि प्रदेश सरकारले काम गर्ने बताउनुभयो ।

गत मंसिर २४ गते पर्यटन विकास आयोजना हेटौंडाले भ्युटावरको संरचना थाहा नगरपालिकाकालाई हस्तान्तरण गरेको थियो ।
सो संरचना संचालनमा ल्याउन पर्यटन विकास आयोजना हेटौंडा र थाहा नगरपालिकाबीच आवश्यक सम्झौता भइसकेको जनाइएको छ।
सम्झौता अनुसार भ्युटावर संचालनबाट प्राप्त राजश्वको निश्चित हिस्सा बागमती प्रदेश सरकारलाई जानेछ।
बागमती प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ (२०७६–२०७८) अन्तर्गत भ्युटावर निर्माणको काम अघि बढाएको थियो ।
उक्त परियोजनामा भ्युटावरसँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ ।
दुई चरणमा मूल्य समायोजनसहित कुल पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँको लागतमा उक्त भ्यु टावर निर्माण भएको हो ।
यससँगै प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि २०७६ सालदेखि हालसम्म प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरेकोे छ ।








प्रतिक्रिया