माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

‘खर्च कटौती र सरकारी सम्पत्तिको मितव्ययितामा बानियाँ सबैभन्दा अब्बल मुख्यमन्त्री’



काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको बारेमा सत्य तथ्यको वास्तविकता लुकाएर जनतालाई भ्रम छर्ने र नकारात्मक सन्देश दिएर कुप्रचार, बद्नाम गर्ने कुनियतले सम्प्रेशण गरिएको समाचार प्रथमदृष्टिमै दुषित मनसायको र खारेजभागी भएको मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएको छ ।

सचिवालयले सम्प्रेषित गरेको विज्ञप्तिमा वास्तविक सत्य यो हो कि मुख्यमन्त्री बानियाँ बिहिबार बिहान सिन्धुपाल्चोकको गुम्बा डाँडामा भएको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा कार्यतालिका अनुसार उपस्थित हुनैपर्ने, जनतासँग जोडिएका अन्य कामहरूमा समेत सामेल भएर सिरहामा भएको पार्टीको कार्यक्रममा सिरहाका आदरणीय पार्टी सभापति रामचन्द्र यादवज्यूले गर्नुभएको निमन्त्रणामा सडक मार्ग हुँदै कार्यक्रममा सहभागी हुन असम्भव भएको अवस्थामा उनले नितान्त आफ्नो व्यक्तिगत खर्चमै हेलिकप्टर मार्फत पूर्वनिर्धारित कार्यक्रममा सामेल हुनैपर्ने बाध्यात्मक अबस्थामा समयको ब्यबस्थापन गर्नुभएको उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– मिडियाले ‘हेलिकप्टर’ देखे तर आफ्नै खर्चमा समयको व्यवस्थापनका लागि, दैनिक कार्यतालिका भ्याउनका लागि दिनरात नभनी सबै सरकारी सुविधा त्यागेर देश र जनताका लागि समर्पित जनताको नेताको समर्पणलाई देखेनन् ? बिहिबारको हेलिकप्टर कुनै सरकारी खर्च र सुविधाको दुरूपयोग होईन । मुख्यमन्त्री बानियाँले समयको व्यवस्थापनका लागि आफ्नै खर्चमा कर्मप्रति गरेको त्याग हो ।


सबै जनता, मिडिया र देशले थाहा पाउने र सत्य समाचार लेख्ने मौका मिलेको छ की मुख्यमन्त्री बानियाँले हालसम्म कुनैपनि सरकारी सुबिधा लिनुभएको छैन । मुख्यमन्त्री बानियाँले आफ्नै तलब पनि लिनु भएको छैन । कुनैपनि सरकारी सुविधा भोग गर्नुभएको छैन । आफुले चढ्ने सरकारी गाडीमा पनि ‘सरकारी फ्युल खर्च’ नगरी आफ्नै खर्चबाट ‘फ्युल’ हालेर नै कर्ममा अनवरत हिँडिरहनु भएको छ । हालसम्म कुनै भत्ता, टीएडीए लिनुभएको छैन, मुख्यमन्त्रीको सचिवालयका कुनै सदस्यले पनि टीएडीए, भत्ता लिएको छैन । हाल बागमती प्रदेश सरकारको खर्चमा आमूल कटौती भएको छ । खर्च कटौती र सरकारी सम्पत्तिको मितव्ययितामा बानियाँ सबैभन्दा अब्बल मुख्यमन्त्री हो । यो उदाहरण मिडियाले जनता सम्म पूर्याओस् ।
सबैले थाहा पाउनुपर्ने धेरै तथ्यहरू छन् जस्मा मुख्यमन्त्री बानियाँले आफ्नै खर्चबाट गरिब बिपन्न जनताको मुहारमा खुसी भर्नुभएको छ । घरबारविहीन भएका चेपाङले मुख्यमन्त्री बानियाँको आफ्नै खर्चबाट बनेको घरमा बस्दा महसुस गरेको सुखले नै उहाँलाई आनन्द दिन्छ । जनताको खुसीमा आफ्नो खुसी देख्ने, प्रदेशको बिकासमा समर्पित रहने, सरकारी खर्चलाई जोगाएर आफ्नै खर्चमा जिम्मेवारीलाई ईमान्दारिताको उदाहरण बन्नुपर्छ भन्ने उत्कट मनोभावले प्रेरित रहेर आँफू, परिवार, व्यक्तिगत स्वार्थ र सेवा सुविधालाई त्यागेर नितान्त जनता र देशको सेवामा समर्पित नेता देश र जनताको समृद्धि लागि दिनरात खटिरहनुभएको छ ।

सही सूचना, सत्य समाचार प्राप्त गर्नु सबै नागरिकको नैसर्गिक अधिकार समेत हो । तर गलत, भ्रमपूर्ण, कपोकल्पित, तथ्यप्रमाणलाई तोडमोड गरेर नकारात्मता फैलाउँदै देश र जनताका लागि काम गर्न अबरोध पैदा गर्ने गरी पत्रकारिताका नाममा पित पत्रकारिता मौलाउनु राज्यकै लागि दुर्भाग्य हो । सत्य पत्रकारिता राज्यको चौथो अँगका रूपमा सम्मानित छ, यस्लाई दुषित बनाउने र बद्नाम गराउनेहरूबाट सञ्चार जगत सचेत बन्नुपर्ने र त्यस्ता नकारात्मक र चरित्रहत्याका हिमायती प्रवृत्तिहरूलाई निरूत्साहित र अन्त्य गरेर मात्र संबिधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सही अभ्यास गर्ने बाटो खुल्दछ ।

आफ्नै खर्चमा हेलिकप्टर चढेर भएपनि यो माटो र जनताका लागि सँधै, जहाँपनि, जुनसुकै बेला र जसरी पनि उपस्थित भएर जीवन नै समर्पित गर्नुभएका मुख्यमन्त्री बानियाँलाई दिनरात, टाढा–नजिक र समयले छेक्दैन ? हुटहुटी र सपना छ त जनताको मुहारमा खुसी ल्याउने, यो देशलाई विकसित र समृद्ध बनाउने सपनालाई आफ्नै जीवनकालमा साकार बनाउने ?

  :