मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

बिद्युतीय सवारीसाधन प्रवद्र्धनका लागि कुमारी बैंक र जीआइजेडबीच सहकार्य



काठमाडौं– नेपालमा विद्युतीय सार्वजनिक सवारी साधन प्रवद्र्धन गर्न कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जीआइजेड नेपाल बीच सम्झौता भएको छ ।

बैंकले सस्टेनेबल इलेक्ट्रीक ट्रान्सपोर्ट फर नेपाल परियोजना अन्तर्गत समझदारी पत्रमा हस्ताक्षर गरिएको जनाएको हो । यस सहकार्यले सार्वजनिक यातायात सञ्चालकलाई वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात, विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पु(याउने विश्वास गरिएको छ ।

कुमारी बैंकले विशेष वित्तीय योजना (लोन प्याकेज) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (सब्सिडी)को व्यवस्था गर्नेछ । यसबाट सार्वजनिक यातायात संचालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउने छ । यसबाट सवारी खरिदको लागत कम हुने र यसलाई आर्थिक रूपमा पनि सहज बनाउने बैंकको अपेक्षा छ।

उक्त परियोजनाले करिब ३ हजार ५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान र्पुयाउने अपेक्षा गरिएको छ।

आर्थिक सीमालाई ध्यानमा राखेर यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ। नेपालको लागि दिगो विद्युतीय यातायात परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन, जीपीएस डिभाइस, एलईडी रुट डिस्प्ले तथा ओपन लुप ई–टिकेटिङ सिस्टम जस्ता डिजिटल सुविधा समेत पनि प्रयोगमा ल्याइएको छ ।

  :