काठमाडौं– नेपाल अटोमोबिल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई ५ बर्षसम्म तालिम दिने भएको छ ।
यससम्बन्धमा नाइमा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौं उपत्यकाका १ हजार ६५१ जना ट्राफिक प्रहरीहरूलाई तालिम दिने विषयमा समझदारी भएको छ।
तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यास सम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको नाइमाले जनाएको छ ।
ट्राफिक सप्ताह २०८२ अन्तर्गत “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान” उद्घाटन कार्यक्रमको अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नाइमाका बोर्ड सौरभ ज्योतिबीच समझदारी पत्र आदान–प्रदान गरिएको हो।
समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारीरयातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयहरूमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ । यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ ।
समझदारी कार्यान्वयन अन्तर्गत पहिलो चरणको तालिम २०८२ माघ ४ गते आइतबारदेखि सुरु हुनेछ । तालिम १७ कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ । तालिममा तनाव व्यवस्थापनरध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड–जेस्चर सीप लगायत विषय समेटिएका छन् ।







प्रतिक्रिया