६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पर्यटकलाई लोभ्याउने रानीकोट गढी



                   

नेपालको प्राकृतिक सुन्दरता विश्वकै लागि अनुपम र अदभूत छ । प्राकृतिक सुन्दरताको साथसाथै ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक स्थलहरु प्रशस्त छन् नेपालमा । यसमध्ये राजधानी काठमाडौंबाट पूर्व दक्षिण क्षेत्रमा पर्ने भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको साँधमा अवस्थित पं्राकृतिक सौन्दर्यताले भरिपूर्ण ऐतिहासिक तथा धार्मिक स्थल हो रानीकोट गढी ।
काठमाडौं नजिकैको पहाडी थुम्को हो रानीकोट । रानीकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक बस स्टपबाट दक्षिणतर्फ पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा हुँदै थोरै उकालो लागेपछि रानीकोट पुग्न सकिन्छ । सूर्यविनायकदेखि रानीकोटसम्म ७ किलोमीटरको दूरी छ । यो भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको सीमाना पर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेपलाञ्चोकको पनौंती नगरपालिकासँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो रानीकोट । लिच्छवीकालीन अवशेषहरु समेत फेला परेको रानीकोटको ऐतिहासिक महत्व छ । रानीकोट एउटा ऐतिहासिक थलो हो । यहाँ ऐतिहासिक दरबार र गढी छ । विगतमा ठूलै ऐतिहासिक दरबार रहेको स्थानमा अहिले त्यसको भग्नावशेष मात्र देख्न पाइन्छ । सो क्षेत्रमा यत्रतत्र ढुंगा तथा बाक्ला ईंटाहरु छरिएका छन् । पुरातत्व विभागले उत्खनन गरेर रानीकोट गढी पत्ता लगाएको हो । यो गढी अहिले संरक्षणको पर्खाईमा छ । चारैतर्फ डाँडा रहेको रानीकोट दरबारको दक्षिणतर्फ फुल्चोकी डाँडा छ । समुद्री सतहबाट झण्डै दुई हजार मिटर उचाईमा रहेको रानीकोट गढीबाट काठमाडौं उपत्यकासहित विभिन्न हिमश्रृंखला देख्न सकिन्छ । सूर्योदय, सूर्यास्त र हिमश्रृृंखला हेर्न रानीकोट उपयुक्त गन्तव्य हो । यस क्षेत्रबाट कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङ्मा, अन्नपूर्ण, मनास्लु, धवलागिरी, माछापुच्छ्रे तथा लाङटाङ जस्ता आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल देख्न सकिन्छ । चारैतर्फ घना जंगल भएकाले विभिन्न प्रजातिका चराहरु समेत देखिन्छन् । हाइकिङका लागि प्रख्यात रानीकोट क्षेत्रमा सूर्यविनायक–रानीकोट–आशापुरी, सूर्यविनायक–रानीकोट–फुल्चोकी, सूर्यविनायक–रानीकोट– लाकुरीभञ्ज्याङ–गोदावरी हाइकिङ रुट पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ ।
रानीकोटका यताउता मन्दिरहरु र बीचमा रानीकोट दरबार, दक्षिणतर्फ प्रसिद्ध बाघ भैरव मन्दिर छ । पहाडको बीचमा ठूलो ढुंगामा छ बाघ भैरव मन्दिर । बाघ भैरवको शिला टाढाबाट हेर्दा बाघ जस्तै देखिन्छ । यो मन्दिरमा बैशाख र मंसिर पूर्णिमाका दिन मेला लाग्ने गर्छ । यस्तै उत्तरतर्फ प्रसिद्ध सूर्यविनायक गणेश मन्दिर, पूर्वतर्फ प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर र आशापुरेश्वर महादेवको मन्दिर छ भने पश्चिमतर्फ अनन्तलिङ्गेश्वर मन्दिर अवस्थित रहेको छ । रानीकोट दरबारको आसपासमा राष्ट्रिय प्राणी उद्यान, घ्याम्पेडाँडा, पाइलट बाबा आश्रम लगायतका महत्वपूर्ण पर्यटकीय स्थान छन् ।

सूर्यविनायकको जंगल छिचोलेर पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा हुँदै रानीकोट पुग्न सकिन्छ । रानीकोट थुम्कोमा पुग्न झण्डै आठ सय सिंढी चढ्नुपर्छ । रानीकोटमा वरिपरि खाल्डो र बीचमा थुम्को छ । वरिपरिको जंगल र बीचमा भएको थुम्कोका कारण काठमाडौं उपत्यकाको दृश्य मनमोहक देखिन्छ ।
इतिहासविदहरुका अनुसार लिच्छवीकालमा अनन्तलिङ्गेश्वर क्षेत्रमा हंशगृहदंग नामको विकसित वस्ती थियो । त्यही वस्तीको एउटा सुरक्षा किल्ला रानीकोट हो । नेपाल एकीकरणको समयमा रानीकोटलाई अस्थायी सुरक्षा किल्ला समेत बनाइएको इतिहासविदहरुको भनाई छ । लिच्छवीकालीन रानीकोट दरबार क्षेत्र भक्तपुरका राजा नरेन्द्रदेवको पालामा निर्माण गरिएको मानिन्छ । रानीकोट दरबार क्षेत्र आसपासमा बाघ भैरव, रानीले नुहाउने कुवा, घ्याम्पे डाँडा, डोलेश्वर, अनन्तलिङ्गेश्वर मन्दिर हुनु र केही समय अगाडि फेला परेको नवपाषण हतियारले रानीकोट गढी दरबार लिच्छवीकालीन दरबार भएको स्पष्ट हुने इतिहासविद्हरु बताउँछन् ।

रानीकोट नाम रहन गएको बारेमा प्रचलित किम्बदन्ती अनुसार गुण्डुमा रानी बस्थिन र उनलाई शितल हावा खुवाउनको लागि डोकोमा बोकेर रानीकोट पु¥याइने गरिन्थ्यो । रानी जाने कोट भएकाले यसको नाम रानीकोट रहन पुगेको किम्बदन्ती रहेको छ । पानी पिउनका लागि रानीले खनाएको रानीकुवा अझै पनि यहाँ देख्न सकिन्छ ।

हरियाली जंगलको बीचमा रहेको रानीकोटको थुम्कोबाट काठमाडौं उपत्यका हेर्न सकिन्छ । राजधानीसँगै जोडिएको सहजै पुग्न सकिने पर्यटकीय गन्तव्य हो रानीकोट । जंगलै जंगलको बीचमा रहेको बाटोबाट तलको मनोरम दृश्य हेर्दै रानीकोट पुग्दा निकै आनन्द आउँछ ।

रानीकोट क्षेत्रमा साहसिक खेल पनि सञ्चालनमा आएका छन् । घ्याम्पेडाँडादेखि रानीकोटसम्म साना ठूला गरि दश वटा होटल सञ्चालनमा छन्, केही होटलको निर्माण भईरहेको छ । जिप सफारीको लागि परीक्षण सम्पन्न भईसकेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न पुगेको छ रानीकोट गढी क्षेत्र । प्रकृतिप्रेमी आन्तरिक पर्यटकहरुका लागि रानीकोट नयाँ गन्तव्यको रुपमा परिचित हुँदै गएको छ । सडक तथा पूर्वाधारको विकाससँगै पर्यटकीय आकर्षणको केन्द्र बन्न पुगेको छ रानीकोट । यस क्षेत्रमा पर्यटकीय सम्भावना धेरै छ । सूर्यविनायकदेखि घ्याम्पेडाँडासम्मको बाटो कालोपत्रे भईसकेको छ त्यसमाथि रानीकोटसम्म ग्राभेल गरिएको मोटरबाटो छ । रानीकोट प्राकृतिक रुपले सुन्दर, ऐतिहासिक र धार्मिक महत्वको क्षेत्र भएकाले यसको पूर्वाधार विकासमा सरकारले ध्यान दिनु जरुरी छ । रानीकोटको ऐतिहासिक पक्षको गहन रुपमा अध्ययन आवश्यक छ । यस क्षेत्रमा रहेका ऐतिहासिक एवम् पुरातात्विक सम्पदाको उत्खनन्, संरक्षण र पुनर्निमाणमा सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।

  :