७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ईभी आयातमा बृद्धि, अघिल्लो बर्षको तुलनामा तीन गुणाले बढ्यो



काठमाडौं – आर्थिक वर्ष २०८०/०८१ अर्थात गत एक वर्षको अवधिमा नेपालमा ११ हजारभन्दा बढी विद्युतीय गाडी (ईभी) भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ म ११ हजार ७०१ ईभी नेपाल भित्रिएका छन् ।

यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा कुल ४ हजार ५० विद्युतीय गाडी आयात गरिएको थियो ।

यी गाडीको आयात मूल्य २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँ छ । यसबाट सरकारले १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ ईभी नेपाल भित्र्याइएको छ । दोस्रोमा ५० किलोवाट क्षमतासम्मका चार हजार ५७१ ईभी भित्रिएका छन् ।

भन्सार विभागको यो तथ्यांकमा कार, जिप र भ्यान मात्र समावेश गरिएको हो । इलेक्ट्रिक पिकअप र थ्री ह्विलर लगायतका अन्य ईभी भने यसमा समेटिएको छैन ।

विभागका अनुसार, उक्त अवधिमा चीनबाट मात्र ८ हजार ६५ विद्युतीय गाडी भित्र्याइएको छ । दोस्रोमा भारतबाट ३ हजार ३७७ विद्युतीय गाडी आयात गरिएको छ ।

५० किलोवाट सम्मका ईभी चीनबाट १ हजार ४१९ र भारतबाट ३ हजार २ युनिट भित्रिएका छन् । त्यसैगरी ५१ देखि १०० किलोवाट सम्मका ईभी चीनबाट ६ हजार ५५० र भारतबाट ३३३ युनिट मात्र भित्रिएका छन् । बाँकी अन्य देशबाट पनि थोरै मात्रामा मात्र भित्रिएका छन् ।

  :