७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सौर्य एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु, पाइलटको उद्दार



काठमाडौँ- काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको छ । ९ एन–एएमई सीआरजे-७ विमान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो ।

दुर्घटनामा जहाजमा सवार १८ जनाको मृत्यु भएको छ । पाइलट मनीष शाक्यको भने केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।

जहाजमा सवार अन्य १८ यात्रुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । जहाजमा एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदीपलाल जोशी, सर्भेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा सवार थिए ।

एकै परिवारका तीन जनाले ज्यान गुमाए

बुधबार पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा एकै परिवारका तीन जनाले ज्यान गुमाएको खुलेको छ । सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन् । प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् ।

  :