७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ईभी किन्न बैंकहरुको कर्जा अफर, यस्तो छ बैंकहरुको ब्याजदर




काठमाडौं– बिद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने ग्राहकहरुलाई विभिन्न वाणिज्य बैंकले कर्जा अफरहरु सार्वजनिक गरेका छन् । विद्युतीय सवारी साधनको प्रयोगमा प्रवद्र्धन गर्ने उद्देश्यले बैंकहरुले ईभी कर्जामा सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले भदौ १ गतेदेखि आगामी कात्तिक मसान्तसम्म कायम हुने गरी बिद्युतीय सवारी तथा अन्य सवारी कर्जामा चाडपर्व योजना नै ल्याएको छ । यस योजनामा बिद्युतीय वा अन्य सवारी साधनको कर्जा ७ बर्षका लागि लिंदा ७.७७ प्रतिशत स्थिर ब्याजदर रहेको छ । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी अधिकतम एक करोड रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने समेत बैंकले जनाएको छ ।


बिद्युतीय सवारी साधन किन्ने ग्राहकहरुलाई एनएमबी बैंकले एनएमबी सुलभ अटो लोन स्कीम ल्याएको छ । ‘वातावरण मैत्री सवारी रोजौं, इन्धनको वचतसँगै दिगो भविष्यमा लगानी गरौं’भन्ने नाराका साथ एनएमबी बैंकले सो स्कीम ल्याएको हो । यस स्कीममा ७ बर्षसम्म ८.९९ प्रतिशत ब्याजदर कायम रहने बैंकले जनाएको छ ।


यस्तै विद्युतीय गाडी किन्न चाहनेहरुका लागि ग्लोबल आईएमई बैंकले सरल र सहज ढंगबाट कर्जा उपलब्ध गराउने भएको छ । बैंकले बिद्युतीय गाडी (ईभी) खरिद गर्न चाहनेहरुका लागि ७.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने जनाएको छ । ५ बर्षभन्दा कम अवधिमा ऋण तिर्ने गरि ईभी किन्न चाहनेहरुका लागि ७.९९ प्रतिशत ब्याजदर र ५ बर्षभन्दा बढी अवधिमा ऋण तिर्ने गरी ईभी खरिद गर्न चाहनेहरुका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।


लक्ष्मी सनराइज बैंकले बिद्युतीय सवारीलाई सात बर्ष अवधिका लागि स्थिर ब्याजमा ८.९९ प्रतिशतमा कर्जा दिने जनाएको छ । अटो कर्जाका लागि आधार दरमा न्यूनतम १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोक्ने बैंकले जनाएको छ ।


नबिल बैंकले ५ बर्ष अवधिका लागि ८.२५ प्रतिशत र ७ बर्ष अवधिका लागि ८.४९ प्रतिशत ब्याजदर तोकेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय सवारी साधन खरिदका लागि ८.८२ प्रतिशतमा कर्जा दिने जनाएको छ । कर्जा प्रवाह गर्दा आधार दरमा न्यूनतम १ देखि ३ प्रतिशतसम्म प्रिमियम दर तोक्ने बैंकले जनाएको छ ।


सिद्धार्थ बैंकले ईभी खरिदका लागि १०.२५ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने जनाएको छ । तर महिलाले ईभी खरिद गर्दा भने ९.९९ प्रतिशत मात्र ब्याज लिने बैंकले जानकारी दिएको छ ।

  :