७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोको चार दिनमा अवलोकनकर्ताहरु ५० हजार नाघे




काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अवलोकनकर्ताहरुको संख्या बढ्दो छ । शोमा नयाँ गाडी, मोटरसाइकल र तिनका पार्टपुर्जाबारे बुझ्न र अवलोकन गर्न पुग्नेहरुको संख्या ५० हजार नाघिसकेको छ ।

भाद्र ११ गतेदेखि शुरु भएको नाडा अटो शो २०२४ भाद्र १६ गते आइतबारसम्म चल्नेछ । सर्वसाधारणका लागि बिहान ११ बाट साँझ साढे ६ बजेसम्म अटो शो खुला रहने गरेको छ ।


नाडा अटो शो २०२४ को पहिलो दिन मंगलबार १० हजार, दोस्रो दिन बुधबार, बिहिबार र शुक्रबार १५ हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको नाडाले जनाएको छ ।

गाडी बिक्रेताहरुले ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न अफरहरु घोषणा गरेका छन् । कतिपय गाडी बिक्रेताहरुले गाडीको मूल्यमा भारी कटौती गरेर ग्राहकहरुलाई आकर्षित गरिरहेका छन् । विशेष गरेर बिद्युतीय गाडीहरु ग्राहकहरुको पहिलो रोजाई परेका छन् । समग्र स्टलमा ८० प्रतिशत विद्युतीय सवारीसाधनको सहभागिता रहेको छ ।

नाडा अटो शोले बिभिन्न अटोमोबाइल कम्पनीहरुले एउटै छानामुनि आफ्ना नयाँ उत्पादनहरुको प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ हल्का व्यावसायिक सवारी साधनहरु प्रदर्शन गरिएको प्रदर्शनीमा ३३ कम्पनीहरुले लुब्रिकेन्ट्स, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरुको प्रदर्शन गरेका छन् । प्रदर्शनीमा १३० स्टलहरुमा ९५ प्रदर्शकहरुले आफ्ना उत्पादन र सेवाहरु प्रदर्शन गरेर्को नाडाले जनाएको छ ।

  :