७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दशैंं, तिहारमा गाडी बिक्रेता कम्पनीहरुको अफरै अफर




काठमाडौं– नेपालीहरूका महान चाड दशैं, तिहार र छठ पर्वको अवसर पारेर विभिन्न ब्राण्ड बिक्री गर्दै आईरहेका कम्पनीहरुले चाडपर्व लक्षित विभिन्न अफरहरु घोषणा गरिरहेका छन् । विभिन्न ब्राण्डका नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीहरुले ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न उपहारदेखि गाडीको मूल्यमा भारी छुटसम्मका स्कीम सार्वजनिक गरेका छन् । हरेक बर्ष झैं कम्पनीहरुले यस बर्ष पनि चाडपर्व लक्षित योजनाहरु ल्याएका छन् ।


अहिले टाटा, सुजुकी, हुन्डाई, निशान, महिन्द्रा, फोर्ड लगायत ब्राण्डका नेपालका लागि आधिकारिक बिक्रेताहरुले छुटसहित चाड पर्वलक्षित अफर सार्वजनिक गरेका छन् । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यस वर्षको दशैँलक्षित विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ ।
जसअन्तर्गत टाटाको प्रत्येक कमर्शियल गाडी खरिद गर्दा ग्राहकले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक लिन सक्नेछन् । होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रीज, एसी, टीभी, माइक्रो वेभ छन् । ग्याजेटअन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच लिन सकिन्छ ।
यस्तै, टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई र युरोप छन् । यस्तै बुकिङ गर्दा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन् ।
यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडी खरिदमा लागु हुने कम्पनीले उल्लेख गरेको छ । आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । यो योजना असोज १४ गतेसम्म लागु हुनेछ ।


नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ । सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बीमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको छ ।
यस्तै होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दशैँ उपहार, अफरमाथि अफर’ उपहार योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि कार किन्दा ५ लाख रुपैयाँसम्मको नगद छुटका साथै २ वर्षका लागि गाडीको बीमा र निःशुल्क कर सुविधा दिएको छ ।


नेपालका लागि हुन्डाई कारको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ–तिहारलक्षित ‘फेस्टिभ डिलाई २०८१’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत एकजना विजेताले लक्की ड्रमार्फत मेड इन नेपाल हुन्डाई भेन्यु जित्न सक्ने कम्पनीले जनाएको छ ।
हुन्डाई गाडीको खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट, स्क््रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने छन् ।


पायोनियर मोटोकर्पले निसशनका गाडीमा ‘निसान फेस्टिभ डिल’को विशेष छुट योजना ल्याएको छ । यो योजना निशान म्यागनाइट, निशान किक्स, निशान नाभारा, निशान लिफ र निशान एक्स–ट्रेल गाडीमा लागू हुने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले निशाान गाडी बुकिङ गर्दा एक वर्ष निःशुल्क बीमा, तीन वर्षको सडक कर छुट, तीन–तीन वर्षको सर्भिसिङ र वारेन्टी तथा १५ लाख रुपैयाँसम्म थप छुट पाउने कम्पनीले जनाएको छ ।


यस्तै पुजा इन्टरनेशनल नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘भक्सवागेन फेस्टिभ फ्रिडम’ नामक स्कीम ल्याएको छ । यस स्कीममा भक्सवागेनका गाडी खरिद गर्ने ग्राहकले १० लाखसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
स्कीममा ४ लाख रुपैयाँसम्म नगद छुट, ५ वर्ष भित्र बिक्री गर्न चाहे बाइब्याक ग्यारेन्टी, एक्सचेन्जमा २ लाख रुपैयाँ बोनस, ४ वर्ष निःशुल्क सर्भिसिङ, इन्धन सुविधा, दुई वर्षसम्मको कर तिर्नु नपर्ने, सहजै फाइनान्स सुविधा उपलब्ध गराउने रहेका छन् ।
कम्पनीले यो सुविधा सुरुमा गाडी बुकिङ गर्ने ५० जनाले पाउने जनाएको छ । भक्सवागेनले अहिले टाइगुन एसयूभीका साथै, अलस्पेश टिगुवान र प्रिमियम एसयूभी टोरेक बिक्री गर्दै आएको छ ।


यसैगरी नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैँतिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिज पाउन सक्ने कम्पनीले जनाएको छ ।


यस्तै दुई पाङ्ग्रे सवारी साधनहरुमा पनि दशैं, तिहारको अवसरमा कम्पनीहरुले विभिन्न अफरहरु ल्याएका छन् । सिएफ मोटो र जिहो ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्राण्डका लागि असोज १ गतेदेखि चाडपर्व अफर सार्वजनिक गरेको छ । आगामी कात्तिक २५ गतेसम्मको अफरमा दुवै ब्राण्डका बाइक तथा स्कूटर खरिद गर्ने ग्राहकले आकर्षक छूट तथा थप सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


यस्तै होण्डा दुई पाङ्ग्रेको सवारीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होण्डाको खुशीयाली बारबार’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कूटर खरिदमा स्क्र्याच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १० हजार रुपैयाँ सम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् ।
यो वाहेक बाई वान गेट वान सर्भिसिङ, ७ वर्ष सम्म सित्तैमा पाउन सक्नेछन् । साथै होन्डाको बिग बाइकहरुमा रु। १ लाख सम्म छुट पनि पाउन सकिने छ । योे योजना सीमित अवधिको लागि मात्र लागू हुने पनि कम्पनीले जनाएको छ ।
यस्तै सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा ‘दशैँ आयो क्यास पायो’ अफर सार्वजनिक गरेको छ ।


यस चाडमा सुजुकीले ल्याएको ‘दशैँ आयो क्यास पायो’ स्किम अन्तगृत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम ७ हजार देखि ५ लाख सम्म क्यास अर्थात नगद रकम तुरुन्तै पाउने छन् ।
यसका साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा छ । सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनियतालाई कायम गर्न ५ वर्षको वारेन्टीका साथै पाँच वर्षकै फ्रि पनि ल्याएको छ ।


दशैँ मनाऔ र क्यास पाई खुशी हौ भन्ने मुल मन्त्र रहेको सुजुकीको यस योजनाले ग्राहकको मन जित्ने कुरामा कम्पनी ढुक्क भएको भीजी अटोमोबाइल्सले जनाएको छ ।

  :