६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

बढी भाडा असुल्ने ३१ जना ट्राफिक प्रहरीको नियन्त्रणमा




काठमाडौं– चाडबाडको मौका छोपेर काठमाडौंका विभिन्न स्थानबाट यात्रुहरुसँग बढी भाडा असुल्नेलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ३१ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार मात्र बल्खुबाट एउटा सवारी साधनसहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जना पक्राउ परेका हुन् ।

यस्तै सोमबार बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई थप कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ । चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा २ वटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजताका लागि ट्राफिक प्रहरीले अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।

डीआईजी भरतबहादुर बोहराका अनुसार चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना(२०८१ को प्रभावकारी कार्यान्वयन गर्नका लागि आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको छ ।

  :