काठमाडौं– नेपालमा बिद्युतीय सवारी साधन (ईभी) को प्रयोग बढ्दै गइरहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकबाट स्पष्ट भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को असोजसम्म विभिन्न ब्रान्डका २ हजार ५ सय १८ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ विभागले ५० किलोवाट क्षमताका ईभी ७७२, ५१ देखि १०० किलोवाट क्षमताका १५ सय ८२ र १०१ देखि २०० किलोवाट क्षमताका १५९ वटा गाडीको आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको तीन र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्याङकले देखाएका छ । भन्सार विभागका अनुसार ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको हो ।
विभागका अनुसार उक्त मूल्यको गाडी आयात हुँदा सरकारले ३ अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
नेपालमा ईभी गाडीको उत्पादन नहुँने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबै भन्दा बढी भारत र चीनबाट हुन्छ । यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ३९९ र भारतबाट ३३७ वटा भित्रिएका छन् । यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट १२ सय ८ र भारतबाट ३७४ वटा आयात भएको विभागको तथ्याङकले देखाएको हो ।
यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट १५४, जर्मनीबाट ४ र अमेरिकाबाट एक वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट दुई र जर्मनीबाट एक वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ । यसका साथै २०१ देखि ३०० किलोवाट क्षमता भएको जर्मनीबाट १ र ३०० भन्दा माथि क्षमता २ वटा ईभी गाडी चीनबाट आयात भएर आएको विभागले जनाएको छ ।
प्रतिक्रिया