काठमाडौं – शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदम अन्तर्गत सहकार्य गर्ने उद्देश्यका साथ डीसी फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न औपचारिक रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यो साझेदारीले ईभी प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकुलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । सो साझेदारी अनुसार १ वर्ष भित्रमा देशभरका १०० स्थानहरूमा फास्ट–चार्जर स्थापना गर्ने योजना रहेको छ ।
हाल देशभर १६ भन्दा बढी फास्ट–चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन् । उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको कम्पनीको भनाइ छ ।
हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, विर्तामोड, बर्दिवास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन् ।
शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ जसले अन्ततः ईभी प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउँछ ।
यो सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर १०० वटा डीसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी योजना रहेको छ ।
शारडा ग्रुप निसान, ओमोडा र जेइको तथा जिकर गाडीको नेपालका लागि आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिप मोटर, सिट्रोन, प्युजो र काईको आधिकारिक वितरक हो । साझेदारीले शारडा समूह र गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सबै ब्रान्डका ग्राहकहरूलाई पहुँच प्रदान गर्दछ। यो सम्झौतासँगै शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले बढ्दो विद्युतीय सवारीको बजारलाई अझ प्रोत्साहित गर्ने प्रतिबद्धता प्रमाणित गरेका छन् ।
प्रतिक्रिया