काठमाडौं– चालू आर्थिक वर्षको पहिलो पाँच महिना साउनदेखि मंसिर मसान्त सम्ममा कुल ४ हजार ६९७ युनिट विद्युतीय गाडी (इलेक्ट्रिक भेईकल) आयात भएको छ ।
उक्त आयातमध्ये मंसिर महिनामा मात्र १ हजार २१० युनिट ईभी आयात भएको भन्सार विभागले जनाएको छ। ५ महिनामा आयात भएका ११ अर्ब २७ करोडभन्दा बढीको ईभीबाट सरकारले ६ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार सबैभन्दा धेरै ईभी चीनबाट आयात भएका छन् ।
मंसिरमा सबैभन्दा धेरै ५० देखि १०० किलोवाट क्षमताका गाडी आयात भएका छन् । उक्त समूहमा एक महिनामा ६४६ युनिट गाडी आयात भएको छ । यसरी आएका गाडी चीनबाट ६१८ युनिट र भारतबाट २८ युनिट आयात भएको हो । कुल आयातको ७६ प्रतिशतभन्दा बढी ईभी चीनबाट आयात भएका हुन् ।
दोस्रो धेरै आयात ५० किलोवाटसम्मका साधन भएका हुन् । ५० किलोवाट क्षमताभन्दा कमका मोटर जडान भएको गाडी पनि चीनबाट नै धेरै आयात भएका छन् । चीनबाट ३४१ युनिट र भारतबाट ९९ युनिट आयात भएका छन्
यी दुई बाहेक १०१ किलोवाट माथि २०० किलोवाटसम्मको सेग्मेन्टमा १२४ युनिट गाडी आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । जर्मनीबाट १०१ किलोवाट देखि २०० किलोवाटसम्मका ७ वटा र २०१ देखि ३०० किलोवाटसम्मका २ वटा गरी कुल ९ वटा ईभी आयात भएका छन् भने अमेरिकाबाट १०१ देखि २०० किलोवाट क्षमता भएका १ वटा र सोहि क्षमता भएको १ वटा ईभी दक्षिण कोरियाबाट आयात भएका भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया