२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

गुण ग्रुपको पाँचतारे होटल ‘द म्यासिफ’को व्यवस्थापन रोयल टुलिपले सम्हाल्ने




काठमाडौं–गुण समूहले निर्माण गरेको ललितपुरको ग्वार्कोमा अवस्थित पाँचतारे होटल ‘द म्यासिफ’को व्यवस्थापन विश्वभरि लक्जरी होटल व्यवस्थापन गर्दै आएको फ्रान्सको रोयल टुलिपले सम्हाल्ने भएको छ ।

युरोपकै दोस्रो ठूलो तथा विश्वबजारमा ११ वटा विभिन्न ब्राण्डसहित फैलिएको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्राण्ड रोयल टुलिपका तर्फबाट लुभ्र होटल्स भारतका निर्देशक अजय बकाया र द म्यासिफ होटलका कार्यकारी अध्यक्ष राजेन्द्र शाक्यले हस्ताक्षर गरेका छन् ।


रोयल टुलिपका लागि नेपालमा दोस्रो होटेलको व्यवस्थापनको जिम्मा लिने तयारी गरेको हो । रोयल टुलिपले यसअघि चितवनको सौराहामा रहेको केटीएम ग्रुपको होटल सञ्चालनको जिम्मा लिइसकेको छ । रोयल टुलिपले अबको ६ महिनाभित्रमा होटेल द म्यासिफ’लाई पूर्ण सञ्चालनमा ल्याउने छ । सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले रोयल टुलिपसँगको सम्झौता आफ्नो कार्यकालको महत्वपूर्ण रहेको बताए ।


गुण समूहका अध्यक्ष शाक्यले फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएका कारण रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता नेपालको लागि माइलस्टोन हुने बताए । अहिले पहिलो चरणमा कन्फ्रेन्स हल, सेमिनार हल सन्चालनमा ल्याउने तयारी गरेको होटलले अबको ३ महिना पछि कोठा पनि सन्चालनमा ल्याउने उनले जानकारी दिए ।


टुलिपका निर्देशक वकायाले लुभ्र अन्तर्गत रोयल टुलिप ब्रान्डमा म्यासिफ २३ औँ होटल रहेको बताए । ‘यो होटल नै आतिथ्यता र विशेष गरि कन्फ्रेन्स, वैवाहिक समारोहका लागि उपयुक्त होटल रहनेछ’ निर्देशक वकायाले भने ‘हामी उच्च्स्तरिय सेवा दिनका लागि जनशक्ति तालिममा विशेष केन्द्रित रहनेछौँ ।’


गुण समूहका प्रबन्ध निर्देशक दिप्रश शाक्यले यो सम्झौताले मुलुकमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई विशेष किसिमको आतिथ्यता प्रदान गर्ने बताए। ‘हामीले गन्तव्यमात्र नभई पाहुनाको अनुभूतिलाइ विशेष प्राथमिकतामा राखेका छौं’ उनले भने ‘हामीले टुलिपलाई ब्राण्डको रुपमा मात्र नभै विश्व व्यापी रुपमा मुलुकको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ल्याएका हौँ ।’
ग्रुपका निर्देशक दिपृना शाक्यले होटलको प्रमुख उद्देश्य लक्जरी मात्र नभई विशेष अनुभूूति प्रदान गर्नु रहेको बताइन्। हाउजिङ, सपिङ मल, एयरलाइन्स, मिडिया उद्योग क्षेत्रमा लगानी विस्तार गरिरहेको यो समूहको होटेल पहिलो हो ।


६ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको होटलमा ३०२ कोठा रहेका छन् । होटलमा प्रेसिडेण्टल, सुइट, डिलक्स र स्ट्यान्डर्ड लेभलका कोठा रहनेछन्। हरेक कोठामा नेपालीपनसँगै लक्जरी हुनेछ । १६ रोपनी क्षेत्रफलमा फैलिएको होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने नजिक र काठमाडौं उपत्यकाको चक्रपथ छेउमा अवस्थित छ । होटल पाटन दरबार स्क्वायरबाट दुई किलोमिटर दूरीमा छ । होटलमा स्विमिङ पुल, हेल्थ क्लबसहित बैंक्वेट हल हुनेछ ।

होटलका महाप्रबन्धक बलराम पाठकले ग्लोबल हस्पिटालिटीमा नयाँ कोसेढुँगा कायम हुनेगरि अगाडि बढने बताए । हामीले गन्तव्य मात्र नभई पाहुनाको अनुभूतिलाई विशेष प्राथमिकतामा राखेका छौं, महाप्रबन्धक पाठकले भने ।

  :