काठमाडौं– सरिना जी ट्रेड प्रालिले नेपाल भित्र्याएको नयाँ बिद्युतीय ट्याक्सी ईभीइजीको बिहिबारबाट बुकिङ खुला गरिएको छ । कम्पनीले जेएमईभी ब्रान्डको उक्त ट्याक्सीको मूल्य ४१ लाख ५० हजार रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार १ लाख १ हजार रुपैयाँ भुक्तानी गरेर उक्त ट्याक्सीलाई बुकिङ गर्न सकिनेछ ।
जेएमईभीको सेडान कार जीएसईलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो ।
ईभीईजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर रहेको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस ईभीलाई डिसी फास्ट चार्जरको सहयतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले ९ घण्टा र डिसी चार्जरले १ घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष अर्थात १ लाख ५० हजार र मोटरमा ३ वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टी दिएको छ ।
प्रतिक्रिया