बैशाख ८, २०८२ सोमबार | Tue Apr 22 2025

८ महिनामा ७ हजार ८० ईभी नेपाल भित्रिए




काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालमा ७ हजार ८० वटा इलेक्ट्रिक भेइकल (ईभी) आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार साउनदेखि फागुनसम्म ५० किलोवाट क्षमताका ईभी २ हजार ५ सय ३१ युनिट, ५१ देखि १०० किलोवाट क्षमताका ३ हजार ८ सय ७९ युनिट र १०१ देखि २०० किलोवाट क्षमताका ६ सय ५४ युनिट ईभी आयात भएका छन् । यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको १४ र ३०० किलोवाट माथिको दुई युनिट ईभी आयात भएको विभागको तथ्याङकले देखाएको छ ।

भन्सार विभागका अनुसार १६ अर्ब ६४ करोड ३२ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएका हुन् । उक्त मूल्यको गाडी आयात हुँदा सरकारलाई १० अर्ब २२ करोड ११ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको छ । हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट भएको छ।

यो ८ महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १ हजार ४ सय ३६ र भारतबाट १ हजार ९४ वटा भित्रिएका छन् । यस्तै, विभागका अनुसार इन्डोनेसियाबाट ५० किलोवाट ब्याट्री क्षमता भएका एक वटा गाडी आएको छ ।
यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ६२४, जर्मनीबाट २४, कोरियाबाट २ र अमेरिकाबाट ४ युनिट गाडी आयात भएका छन् ।

विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट १० र जर्मनीबाट ३ वटा, अमेरिकाबाट एक युनिट गाडीको आयात भएको छ ।

  :