काठमाडौं– अब ट्राफिक सचेतना कक्षा नागरिक एपबाटै लिन सकिने व्यवस्था प्रहरीले गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका हुन् । प्रहरीले ज्ञानबजार प्रालिसँगको सहकार्यमा यो सेवा सञ्चालन गरेको हो ।
यो व्यवस्थासँगैै अब मादक पदार्थ सेवन, लेन क्रस, ओभर स्पीड लगायत ट्राफिक नियम उल्लंघन गर्ने कसुर गर्नेले नागरिक एपबाटै कक्षा लिन पाउने भएका छन् । यसअघि चालक अनिवार्य रूपमा ट्राफिक कार्यालय पुगेर कक्षा लिनुपर्ने व्यवस्था थियो । अनलाइन कक्षा लिनुभन्दा पहिले तोकिएको जरिवाना तिर्नुपर्छ । त्यसपछि आफ्नो मोबाइलमा रहेको ‘नागरिक एप’ खोलेर ‘ट्राफिक अनलाइन क्लासमा गई ‘जोइन क्लास’ मा जानुपर्छ ।
एपमा देखाइएका सबै नियम र सर्तहरू पढेर आफ्नो दुवै कान देखिने गरी स्पष्ट अनुहारको फोटो खिचेर अपलोड गर्नुपर्छ । फोटो अपलोड भएपछि भिडिओ कक्षा शुरू हुन्छ । कक्षाको अन्त्यमा सोधिने छ वटा प्रश्नमध्ये कम्तीमा ३ वटाको सही जवाफ दिनुपर्नेछ । यदि अनुत्तीर्ण भएमा ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमै उपस्थित हुनुपर्नेछ ।









प्रतिक्रिया