मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. चालिसे




काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि डा. चालिसे अस्पतालमा आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको भूमिकामा कार्यरत थिए।

निमित्त निर्देशकका रूपमा कार्यरत रहँदा डा. चालिसेले अस्पतालको प्रशासनिक व्यवस्थापन, प्रविधिको आधुनिकीकरण, सेवा विस्तार, तथा जनमुखी स्वास्थ्य कार्यक्रमहरूमा उल्लेखनीय पहल गरेका थिए। अस्पतालमा संस्थागत सुशासनलाई सुदृढ बनाउँदै उनले नेतृत्वमा पारदर्शिता र उत्तरदायित्वको संस्कृति विकास गरेका थिए।

डा. चालिसेको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पतालले हालै एण्डोस्कोपी, सिस्टोस्कोपी, न्यूरो माइक्रोस्कोप र सी–आर्म जस्ता अत्याधुनिक सेवा सुरु गरेको छ। पेट, मुत्रथैली तथा मस्तिष्क ट्युमरका जटिल अवस्थाको निदान तथा उपचारमा यी सेवाले प्रभावकारी सहयोग गर्ने विश्वास लिइएको छ।

यिनै सेवाहरूको गुरु पूर्णिमाको दिन वरिष्ठ चिकित्सकहरूको उपस्थितिमा शुभारम्भ गरिनु, डा. चालिसेको समन्वय र नेतृत्व क्षमताको उदाहरणस्वरूप लिइएको छ।

उहाँकै पहलमा केहि समय अगाडी बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमाबुढानीलकण्ठ मन्दिर परिसरमा विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस अवसरमा जनचेतनामूलक र्याली, नाटक प्रदर्शन र सामूहिक संकल्प कार्यक्रम आयोजना गरिएको थियो। यस अभियानमा स्वास्थ्य मन्त्रीदेखि नीति निर्माता अधिकारीहरूको सक्रिय उपस्थिति थियो, जसले जनस्वास्थ्यमा चालिसेको समर्पण दर्शाउँछ।

उहाँकै नेतृत्वको टोलीले भक्तपुर क्यान्सर अस्पतालको प्रविधिक सहयोगमा पाँचथरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन समेत गरेको थियो। फिदिममा आयोजित शिविरमा पहिलो दिनमै ९ सय महिलाले पाठेघरको घाउ, स्तनमा गिर्खा, ट्युमर लगायतको परीक्षण गराएका थिए। ग्रामीण महिलालाई लक्षित उक्त शिविर डा. चालिसेको पहल र सेवामुखी दृष्टिकोणको उदाहरण बन्यो।

स्वास्थ्य सेवा सुधार, आमनागरिकको पहुँचमा गुणस्तरीय उपचार सुविधा, र सार्वजनिक–निजी सहकार्यको सुदृढीकरणमा डा. चालिसेको अग्रसरता आगामी दिनमा भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको उत्कृष्ट क्यान्सर उपचार केन्द्रको रूपमा उभ्याउने अपेक्षा गरिएको छ।

  :