मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

प्रधानमन्त्री ओलीद्वारा भृकुटीमण्डपमा नाडा अटो शो शुभारम्भ



काठमाडौं– राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ १७ औं संस्करणको ‘नाडा अटो शो २०२५ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शोको उदघाटन गरेका थिए ।


सो अवसरमा प्रधानमन्त्री ओलीले बजेट र मौद्रिक नीतिमा उदारता अपनाइएको, पूर्वाधार विकासमा जोड दिइएको र देशैभर हाइवे निर्माण भइरहेको बताउँदै व्यवसायीहरु असन्तुष्ट हुनुपर्ने ठाउँ नदिइएको बताए । नेपाल ईभीमा अगाडि बढिसकेको र ग्रिन हाइड्रोजनमा पनि अग्रसरता देखाएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले ईभीको बजार बढ्नु सकारात्मक भएको बताए ।
नाडा गठन भएको ५० वर्ष पुरा भएको अवसरसमेत परेका कारण यसपटकको नाडा अटो शोलाई भव्य र सभ्य बनाउन हरसम्भव प्रयास गरिएको नाडा अध्यक्ष करण चौधरीले बताए । अध्यक्ष चौधरीले नेपालका लागि अटो शो गौरवको विषय भएको बताउँदै उनले अटोमोबाइल क्षेत्रबाट १० लाख रोजगारी सिर्जना भएको बताए ।

आगामी भाद्र ८ सम्म चल्ने नाडा अटो शो २०२५ नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा हुँदैछ। यस वर्षको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकको सहभागिता, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू र भिन्टेज मोटर शो रहेका छन् ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

  :