मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एशिया प्यासिफिक मोटर स्पोर्टस च्याम्पियनसिपमा नेपालका आशिषले जिते स्वर्ण पदक




काठमाडौं–नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको छ । एशिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप–२०२५ मा नेपालले यो ऐतिहासिक सफलता हासिल गरेको हो ।

गत सेप्टेम्बर २६–२८मा श्रीलङ्काको कोलम्बोस्थित श्रीलङ्का कार्टिङ सर्किटमा १८ राष्ट्रका २०४ खेलाडीबीच सम्पन्न प्रतियोगितामा नेपालका आशिष भारती “रोनी”ले अटो जिमखाना ‘पुरुष एकल’ विधामा स्वर्ण पदक जितेका हुन् । उक्त प्रतियोगितामा १८ राष्ट्रका २०४ खेलाडीले सहभागिता जनाएका थिए ।

ललितपुरका ३१ वर्षिय आशिषको यस सफतलाको यात्रा थप प्रेरणादायी पनि रह्यो । पहिलो दिनको अभ्यासमा उनी १६औँ स्थानमा मात्र थिए, दोस्रो दिन भएको अर्को इभेन्ट एशिया अटो जिमखाना च्याम्पियनसिपमा पाँचौँ स्थानमा पुगे र त्यसपछि आत्मविश्वाससहित मुख्य प्रतियोगितामा प्रवेश गरे । अन्तिम दिनको मुख्य प्रतिस्पर्धाको छनोट चरणमा उनी दोस्रो स्थानमा रहे र अन्ततः शीर्ष आठको फाइनलमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जित्न सफल भए ।

सो च्याम्पियनसिपमा नेपालले अष्ट्रेलिया र जापानसगै एक–एक स्वर्ण जित्दै सातौँ स्थानमा साझा स्थान सुरक्षित गरेको थियो । पदक तालिकामा फिलिपिन्स शीर्ष स्थानमा रह्यो, जसले दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्यो । श्रीलङ्का र हङकङले पनि दुई–दुई स्वर्णसहित क्रसशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे । मलेसिया, भारत र क्रिग्रिस्थानले एक स्वर्ण सहित क्रसशः चौथो, पाचौँ र छैटौं रहे । चाइनिज ताइपेइ, पाकिस्तान, उज्बेकिस्तान र दक्षिण कोरियाले भने रजत र कास्यमै चित्त बुझाए । चीन, सिङ्गापुर, माल्दिभ्स र बङ्गलादेश भने कुनै पदक जित्न नसकेर तालिकाको अन्त्यमा रहे ।

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) मार्सल एण्ड ट्रेनिङ कमिसनका सचिव तथा सो च्याम्पियनसिपका लागी नेपाली टिम म्यानेजर आशिष रौनियारले यस उपलब्धि साझा मेहनतको परिणाम भएको बताए । स्वर्ण विजेता आशिषले यो जित आफ्नो मात्र होइन, सम्पूर्ण टिम र नेपाली मोटरस्पोर्टस्को सामूहिक संघर्षको परिणाम भएको बताए ।

  :