माघ १३, २०८२ सोमबार | Tue Jan 27 2026

फरक र सम्भावनायुक्त पर्यटकीय गन्तव्य सुनसरीको सप्तकोशी बगर



सुनसरी — कुनै मेला, औपचारिक कार्यक्रम वा विशेष आयोजना नभए पनि सप्तकोशी बगर शनिबार हजारौँ मानिसको भीडले भरिएको थियो। दिन ढल्दै जाँदा सूर्यास्त हेर्न कोशीकिनारतर्फ आकर्षित हुनेहरूको संख्या बढ्दै जाँदा कोशीबगर–शिसौली–बोराबाँध क्षेत्रमा सवारी र मानिसको चहलपहल बाक्लिएको देखिन्थ्यो।

पर्यटन अभियन्ता रामसुन्दर बकेका अनुसार, सप्तकोशी बगरमा उभिँदा थाइल्याण्डको प्रसिद्ध जोम्टियन बीच जस्तै अनुभूति हुन्छ। पानी, बालुवा, खुला आकाश र सूर्यास्तको संगमले समुद्री किनारको झल्को दिने भएकाले यो क्षेत्र नेपालकै फरक र सम्भावनायुक्त पर्यटकीय गन्तव्य बन्न सक्ने उनको भनाइ छ।

हाल कोशीबगरमा पानीसँग खेल्ने विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालनमा छन् भने स्थानीय युवाहरूका लागि रोजगारीका अवसर सिर्जना हुँदै गएका छन्। छोटो समयमै सामाजिक सञ्जाल र मुखमुखै प्रचारमार्फत यो स्थान चर्चामा आएको हो।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा महत्वपूर्ण सप्तकोशी क्षेत्रमा अहिले दैनिक सूर्यास्त अवलोकन गर्न आउने पर्यटकहरूको भीड लाग्ने गरेको छ। विज्ञहरूका अनुसार, पर्याप्त योजना, व्यवस्थापन र दीगो पूर्वाधार विकास गर्न सके सप्तकोशी बगर आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख आकर्षण बन्न सक्ने सम्भावना देखिएको छ।

  :