माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

नेपालमा सबभन्दा छिटो पर्यटन विकास भएको सुनसरीको बोराबाँध



सुनसरी – सुनसरीको वराहक्षेत्र नगरपालिका–२ मा अवस्थित ह्यापील्याण्ड र बोराबाँध क्षेत्र सप्तकोशी किनारकै एउटा भाइरल स्पट बन्न पुगेको छैन, यहाँ सामुद्रिक पर्यटनको मज्जा लिनका लागि पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ ।


यहाँ मनमोहक सूर्यास्तका दृश्य हेर्न तथा तस्विर–भिडियो कैद गर्न दैनिक रूपमा हजारौं पर्यटक आउने गरेका छन् । नेपालको समुन्द्र सप्तकोशी भन्ने नाराका साथ त्यहाँ बोराबाँध र ह्याप्पील्यान्डमा हजारौं पर्यटकको भीड लाग्ने गरेको छ । यहाँ आन्तरिक मात्र नभएर भारतबाट समेत हजारौं पर्यटक आउन थालेका छन् । केही वर्ष अगाडि साधारण बाँध रहेको सो क्षेत्रमा अहिले यहाँ क्याम्पफायर, रिसोर्ट, कफीसटप, खाजा पसल र स्थानीय परिकार प्रस्तुत गर्ने व्यापारहरू विस्तार भईरहेका छन् । यसले स्थानीय स्तरमा रोजगार तथा आर्थिक गतिविधि बढाउन सहयोग गरिरहेको छ । पहिले निकै कम ख्यातिप्राप्त र खाली ठाउँका रूपमा रहेको बोराबाँध छोटो अवधिमा नै पर्यटकहरूका लागि प्रमुख गन्तव्य बन्न पुगेको छ ।

सो ह्याप्पील्याण्ड र बोराबाँध अहिले साँझ अस्ताउँदो सूर्यको आकर्षण केन्द्र बन्दै गएको छ। नदीको किनार, खुला आकाश र कोशीको चम्किलो सतहमाथि परावर्तित सूर्यास्तको दृश्यले जो–कोहीलाई पनि मोहित बनाउँछ नै । प्राकृतिक सुन्दरता, शान्त वातावरण र सहज पहुँचले गर्दा बोराबाँध छिट्टै पर्यटकहरुको हब बनेको छ ।

ह्याप्पील्यान्ड प्राइभेट लिमिटेडमार्फत २७ जना युवा मिलेर त्यस क्षेत्रमा १० करोडको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ह्याप्पील्याण्ड र बोराबाँधजस्तो छिटो पर्यटन विकास भएको नेपालमा अन्य ठाउँ नभएको पर्यटन व्यवसायी रामसुन्दर बकेले बताए ।

नजिकै धार्मिक र ऐतिहासिक रूपमा पनि धेरै महत्त्वपूर्ण चतरा छ । यहाँ नजिकै प्रसिद्ध बराहक्षेत्र मन्दिर छ, जुन नेपालको चार धाममध्ये एक मानिन्छ । अलि तल कोशी नदीको छेउमा कोशी टप्पु वन्यजन्तु आरक्ष छ । यो आरक्ष विशेषगरी अर्ना र विभिन्न प्रजातिका चराहरू र रामसार क्षेत्रको लागि विश्वभर परिचित छ ।

  :