८ असार २०८३, सोमबार | Mon Jun 22 2026

ट्राफिक प्रहरी र नाडाबीच ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहकार्य गर्ने सहमति



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच उपत्यकाको ट्राफिक व्यवस्थापनका विभिन्न समस्या र समाधानका उपायबारे विस्तृत छलफल गर्दे ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहकार्य गर्ने सहमति भएको छ ।


नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी विभिन्न समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको थियो ।

छलफलका क्रममा प्रमुख काफ्लेले नाडा र ट्राफिक कार्यालयबीच सिर्जनशील र दीर्घकालीन उद्देश्यका साथ सहकार्य गर्नुपर्नेमा जोड दिए ।
काफ्लेले नाडालाई उपत्यकामा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र एआई प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापनका लागि पहल गर्न समेत आग्रह गरे ।

यसैगरी, सवारी साधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टरमा आउने व्यक्ति र पहिलो पटक लाइसेन्स लिनेहरूका लागि ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको छोटो प्रशिक्षण लिने व्यवस्था गर्न प्रमुख काफ्लेले प्रस्ताव गरे । यसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

भेटका क्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विगतमा पनि ट्राफिक प्रहरीसँग नाडाले सहकार्य गर्दै आएको जानकारी गराए ।

  :