२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स



काठमाडौं । एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये छ टोलीको टाइटल स्पोन्सर बनेको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा औपचारिक सम्झौता सम्पन्न गरेको छ।


नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता पत्रमा उल्लेख भएअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्बन्धित टोलीको प्रमुख प्रायोजकका रूपमा तीन वर्षसम्म रहनेछ भने टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ। कम्पनीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली खेलकुदको विकास, राष्ट्रिय पहिचान प्रवर्द्धन तथा खेलमार्फत सम्पूर्ण नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध गर्ने उद्देश्यले उक्त लगानी गरेको जनाएको छ।

आउँदो दसैँपछि आयोजना हुन लागेको एनपीएलको तेस्रो संस्करण अगाडि भएको यो ठूलो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको आकर्षण र विश्वास निकै बढेको देखाउने कम्पनीले जनाएको छ। आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको क्षमता वृद्धि र खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

  :