काठमाडौं । नेपालका लागि टाटा कमर्सियल गाडीको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा बीएस–६ तालिम प्रशिक्षण कार्यक्रम’ आइतबारदेखि सुरु भएको छ ।
कात्तिक १५ देखि २० गतेसम्म सञ्चालन हुने ६ दिने प्रशिक्षण कार्यक्रम हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा र टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ घोराही र वीरगञ्ज गरी देशका विभिन्न १४ स्थानमा आयोजना भइरहेको छ ।
कम्पनीका अनुसार कार्यक्रममा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक तथा इलेक्ट्रिसियन अर्थात् टाटा गुरुहरूलाई आधुनिक सवारी प्रविधि तथा बीएस–६ ९भारत स्टेज–६० सम्बन्धी प्राविधिक ज्ञान र सीप प्रदान गरिनेछ ।
प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ प्रणालीबारे जानकारी दिइने पनि कम्पनीले जनाएको छ । त्यस्तै, बीएस–६ इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ईसीयू र एक्टुएटरको कार्यप्रणालीबारे पनि प्रशिक्षण दिइनेछ ।







प्रतिक्रिया