७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीको तीज विशेष कार्यक्रम



काठमाडौं । नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुरको राधेराधेमा रहेको रोयल थाई हस्पिटालिटीले नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा महिला दिदीबहिनीहरूलाई दर खुवाउनुका साथै आपसी भेटघाट र सांस्कृतिक वातावरण निर्माण गरिएको थियो।
कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत डोन्नावित पूलसावत प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनको उपस्थितिले नेपाल र थाइल्याण्डबीचको सांस्कृतिक सम्बन्धलाई समेत थप आत्मीय बनाएको आयोजकको भनाइ छ।

तीज पर्वको मौलिकता हराउँदै गएको अवस्थामा परम्परा, संस्कृति र सामाजिक एकतालाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोयल थाई हस्पिटालिटीले जनाएको छ। कार्यक्रममा सहभागी महिला दिदीबहिनीहरूले तीजका गीत तथा नृत्यमार्फत रमाइलो गर्दै पर्वको खुसी साटासाट गरेका थिए।

कार्यक्रमले नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न तथा महिला दिदीबहिनीबीच आपसी सद्भाव र आत्मीयता बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ। रोयल थाई हस्पिटालिटीले आगामी दिनमा पनि नेपाली कला, संस्कृति, परम्परा तथा सामाजिक गतिविधिसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

  :