१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

रसुवा भन्सारमा जाँचपास भएका ईभी अन्य नाकाबाट नेपाल भित्र्याउन सकिने व्यवस्था



काठमाडौं । रसुवा भन्सार बिन्दु हुँदै आयातका लागि कागजात जारी भइसकेका विद्युतीय सवारी सहित अन्य मालसामान अब वैकल्पिक नाका प्रयोग गरी आयात र जाँचपास गर्न सकिने व्यवस्था भन्सार विभागले गरेको छ ।

रसुवामा भीषण बाढीका कारण चीनबाट आयातको क्रममा बीच बाटोमै रहेका सामान तथा बिद्युतीय सवारी ल्याउन व्यवसायीहरूलाई सहजीकरण गर्दै भन्सार बिन्दु परिवर्तन गर्न पाउने व्यवस्था विभागले गरेको हो ।

विभागका अनुसार यसअघि रसुवा भन्सार कार्यालय हुँदै सामान आयात गर्न आवश्यक कागजात जारी भई चीनतर्फ बाटोमै रोकिएका सामानहरू अब वैकल्पिक नाकाबाट भन्सार जाँचपास गर्न सकिने भएको हो ।

आयातकर्ताले सम्बन्धित बैंकमा सम्पर्क गरी भुक्तानीका माध्यममा उल्लेख भएको भन्सार बिन्दुको सट्टा आफूले चाहेको नयाँ भन्सार बिन्दु कायम गरी परिवर्तित नाकाबाटै सामान घोषणा र जाँचपास गराउन सक्ने विभागले जनाएको छ ।

‘रसुवा भन्सार कार्यालय हुँदै पैठारी गर्न आवश्यक कागजात जारी भई ढुवानीको क्रममा बाटोमा रहेका वस्तु वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी गर्न चाहने पैठारीकर्ताले उल्लेखित प्रयोजनका लागि सम्बन्धित बैंकमा सम्पर्क गरी भुक्तानीका माध्यममा उल्लेख भएको भन्सार बिन्दुको सट्टा पैठारी गर्न चाहेको भन्सार बिन्दु कायम गरी परिवर्तित भन्सार विन्दुमा वस्तु घोषणा गरी जाँचपास गर्न सकिने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले स्पष्ट पारेको छ । भन्सार बिन्दु परिवर्तन गर्नका लागि व्यापारीहरूले अन्य कुनै निकायको छुट्टै अनुमति वा सिफारिस लिनु नपर्ने विभागले प्रष्ट्याएको छ ।

साथै, विभागले रसुवा र तातोपानी नाका हुँदै ल्याउन लागिएका सामानहरू मुस्ताङस्थित कोरला नाकाट आयात गर्न अनुरोध गरेको छ । विभागले सहजीकरणका लागि मुस्ताङ भन्सारमा हेल्प डेस्क समेत स्थापना गरेको हो ।

  :