२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्देशन जारी गरेका हुन्। महासङ्घले देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षा, सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन सो निर्देशन दिएको हो ।

महासङ्घले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा सम्बन्धित उपभोक्ता संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ । महासचिव गौतमले चाडपर्वका समयमा सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउनुका साथै टिकट बिक्रीमा अनलाइन बुकिङलाई प्राथमिकता दिन यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारीसाधन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको बताए।

यस्तै, उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने, यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने महासङ्घले जनाएको छ ।

महासङ्घले अनधिकृत काउन्टर, परिचयपत्र तथा पोसाक नलगाएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न पनि निर्देशन दिएको छ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्ने, मादक पदार्थ सेवन गरी यात्रा गरेमा कारबाही गर्नुपर्ने तथा आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेमा जोड दिइएको छ ।

सवारी चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको स्थानमा मात्रै यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था मिलाउनुपर्ने, बाढीपहिरो तथा सडक अवरोधको सम्भावनालाई ध्यान दिँदै मुख्य सडक तथा राजमार्गको निरन्तर निरीक्षण, आवश्यक मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन महासङ्घले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

  :