६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य



काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर घटाए पश्चात हुन्डाईको नेपालस्थित इलेक्ट्रिक गाडीको मूल्य समेत घटेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो वेबसाइटमार्फत नयाँ मूल्य सार्वजनिक गरेको छ ।

नयाँ मूल्य सूची अनुसार हुन्डाई कोना इलेक्ट्रिक गाडीको मूल्य एकैपटक २३ लाख रुपैयाँले घटेको छ । नेपाली बजारमा उपलब्ध दुई मोडलका कोना इलेक्ट्रिक मध्ये एउटा १०० किलोवाट र अर्को १५० किलोवाट क्षमताको छ ।

१०० किलोवाट क्षमतायुक्त कोनाको मूल्य ७६ लाख ९६ हजारबाट घटेर ५६ लाख ९६ हजार पुगेको छ । यसमा २० लाख रुपैयाँले मूल्य घटेको छ । अर्को १५० किलोवाट कोना इलेक्ट्रिकको मूल्य भने ९४ लाख ९६ हजारबाट २३ लाख रुपैयाँ घटेर ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको हो ।

नेपाली बजारमा उपलब्ध हुन्डाईको अर्को इलेक्ट्रिक गाडी आयोनिक ईभी हो । १०० किलोवाट क्षमतायुक्त आयोनिकको मूल्य ७६ लाख ९६ हजारबाट ५७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसमा १९ लाख रुपैयाँ मूल्य घटेको छ ।

गत वर्षको बजेटमार्फत अन्तःशुल्क र भन्सार कर निकै बढाइएकाले अटोमोबाइल कम्पनीहरुले बाध्य भएर नयाँ मूल्य सूची सार्वजनिक गरेका थिए । हालै प्रस्तुत गरिएको बजेटमार्फत अन्तःशुल्क पुरै खारेज गरिएको छ भने भन्सार दर पनि उल्लेख्य रुपमा घटाइएको छ ।

  :