मंसिर २७, २०८२ शुक्रबार | Fri Dec 12 2025

हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य



काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो वेबसाइटमार्फत नयाँ मूल्य सार्वजनिक गरेको छ । सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर घटाए पश्चात हुन्डाईको नेपालस्थित इलेक्ट्रिक गाडीको मूल्य समेत घटेको छ । १०० किलोवाट क्षमतायुक्त कोनाको मूल्य ७६ लाख ९६ हजारबाट घटेर ५६ लाख ९६ हजार पुगेको छ । यसमा २० लाख रुपैयाँले मूल्य घटेको छ ।

अर्को १५० किलोवाट कोना इलेक्ट्रिकको मूल्य भने ९४ लाख ९६ हजारबाट २३ लाख रुपैयाँ घटेर ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको हो ।नयाँ मूल्य सूची अनुसार हुन्डाई कोना इलेक्ट्रिक गाडीको मूल्य एकैपटक २३ लाख रुपैयाँले घटेको छ । नेपाली बजारमा उपलब्ध दुई मोडलका कोना इलेक्ट्रिक मध्ये एउटा १०० किलोवाट र अर्को १५० किलोवाट क्षमताको छ ।

नेपाली बजारमा उपलब्ध हुन्डाईको अर्को इलेक्ट्रिक गाडी आयोनिक ईभी हो । १०० किलोवाट क्षमतायुक्त आयोनिकको मूल्य ७६ लाख ९६ हजारबाट ५७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसमा १९ लाख रुपैयाँ मूल्य घटेको छ ।यस अनुसार आर्थिक अध्यादेशले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाट सम्मका साधनमा १५ प्रतिशत मात्र भन्सार दर तोकेको छ ।

गत वर्षको बजेटमार्फत अन्तःशुल्क र भन्सार कर निकै बढाइएकाले अटोमोबाइल कम्पनीहरुले बाध्य भएर नयाँ मूल्य सूची सार्वजनिक गरेका थिए । हालै प्रस्तुत गरिएको बजेटमार्फत अन्तःशुल्क पुरै खारेज गरिएको छ भने भन्सार दर पनि उल्लेख्य रुपमा घटाइएको छ ।

  :