१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

घ्याम्पेडाँडा–रानिकोट सडक स्तरोन्नतिमा बेवास्ता गरिएकोमा सरकारको ध्यानाकर्षण



भक्तपुर–काभ्रे जोड्ने महत्वपूर्ण वैकल्पिक मार्ग घ्याम्पेडाँडा–रानिकोट सडक स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरी रातो किताबमा समेत प्रकाशित गरे हालसम्म स्तरोन्नतिको कार्य अगाडि बढ्न सकेको छैन ।

सडक स्तरोन्नतिका लागि करिब १.५ किलोमिटर भाग मात्रै बाँकी रहे पनि सम्बन्धित निकायको बेवास्ता गर्दै आएको छ । आर्थिक वर्ष सकिन लाग्दासमेत बजेट कार्यान्वयन नभएको भन्दै स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त सडक भक्तपुर हुँदै काभ्रेको पनौती जाने छोटो मार्गका रूपमा परिचित छ भने ललितपुरको लाकुरीभञ्ज्याङसँग समेत जोडिने रणनीतिक महत्वको सडक हो। हाल काभ्रेको पनौतीतर्फबाट रानिकोटसम्म सडक कालोपत्रे भइसकेको छ। तर भक्तपुरतर्फको खण्ड निर्माण हुन नसक्दा स्थानीयहरुले निकै सास्ती बेहोर्नु परेको छ ।

ऐतिहासिक गढी अवलोकन, प्राकृतिक दृश्य तथा धार्मिक आस्थाका केन्द्र प्राकृतिक भैरव मन्दिर दर्शनका लागि दैनिक सयौंदेखि हजारौं मानिसहरू यहाँ पुग्ने गरेका छन्। सडकको सहज पहुँचका कारण यस क्षेत्रमा साना–ठूला होटल तथा व्यवसाय विस्तार हुँदै गएको पर्यटन व्यवसायी तथा समाजसेवी रामसुन्दर बके बताउँछन् ।

त्यसैगरी काभ्रेको पनौती–१ क्षेत्रमा खुलेका ट्राउट फर्म, कृषि उत्पादन तथा बेथानचोक गाउँपालिकास्थित च्याग्रमबेसीको मडानी डेरीको दूधसमेत यही सडकमार्फत काठमाडौं उपत्यकामा पुग्ने गरेको छ ।

तर सडक स्तरोन्नति नहुँदा व्यवसाय सञ्चालन, दैनिक आवतजावत तथा वर्षायाममा विद्यालय जाने बालबालिकाहरूलाई ठूलो समस्या भइरहेको स्थानीयको भनाइ छ। धुलाम्मे तथा हिलाम्मे सडकका कारण दुर्घटनाको जोखिमसमेत बढ्दै गएको स्थानीयहरुको गुनासो छ ।

  :