काठमाडौं । चिनियाँ सवारी निर्माता डोङफेङले उत्पादन गरेको एमहिरो– १ इलेक्ट्रिक एसयूभी भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६ मार्फत नेपालमा सार्वजनिक भएको छ । तर डोङफेङका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले यसको तत्काल बिक्री भने शुरु नगर्ने भएको छ । सन् २०२७ जनवरीदेखि यसको बिक्री–वितरण सुरु गर्ने तयारीमा कम्पनी रहेको छ ।
विद्युतीय एसयूभी सेग्मेन्टमा शक्तिशाली र विलासी मोडलका रूपमा प्रस्तुत गरिएको एमहिरो– १ लाई इलेक्ट्रिक हमर र मर्सिडिज–बेन्ज जी–क्लाससँग प्रतिस्पर्धा गर्ने गरी तयार गरिएको कम्पनीको दाबी छ । यो एसयूभीको मुख्य विशेषता भनेको अफरोड क्षमता, उच्च पावर र विलासी डिजाइन हो ।
एमहिरो–१ मा चारवटा विद्युतीय मोटर छ । यी मोटरले संयुक्त रूपमा ८०० किलोवाट अर्थात् १,०८८ एचपी पावर र १,४०० एनएम पीक टर्क उत्पादन गर्छन् । करिब ३.५ टन तौल रहेको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमै पूरा गर्ने कम्पनीको दाबी छ ।
एमहिरो– १ मा ६५।८ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । डब्लूएलटीपी परीक्षणअनुसार उक्त ब्याट्रीले पूर्ण चार्जमा ४५० किलोमिटरसम्म यात्रा गर्न सक्ने बताइएको छ । रेन्ज, एक्सटेन्डर प्रणालीसमेत रहेको यस एसयूभीमा ८० लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ ।






प्रतिक्रिया