१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

चीनले भन्यो–छोचेन र पुरेपू त्साङ्पोको दोभानमा ठूलो ताल बनेको छ, अझै जोखिम




काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै ठूलो जलाशययुक्त ताल (ब्यारियर लेक) बनेको र आज बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालेको जनाएको छ ।


चीनको केन्द्रीय टेलिभिजन सीसीटीभी का अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ । यसले ताल फुट्ने जोखिम उच्च रहेको जनाइएको छ ।

तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएका छोचेन र पुरेपू खोला सीमापारि आपसमा मिसिन्छन् । तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ ।


मन्त्रालयले तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको पनि जनाएको ग्लोबल टाइम्सको खबरमा उल्लेख छ । ताल फुट्ने सम्भावित अवस्थाको पूर्वानुमान गर्न बाढीको सिमुलेसन तथा विश्लेषण गरिरहेको र आपत्कालीन उद्धार कार्यमा आवश्यक सहयोग पुर्‍याउने तयारीसमेत गरिरहेको मन्त्रालयले जनाएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै आकस्मिक उद्धार तथा राहत कार्यमा सहयोग र्पुयाउन आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

  :