५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

उपलब्ध सीमित कोटालाई व्यवस्थापन गरेर ग्यास उपलब्ध गराउँदै साल्ट ट्रेडिङ




काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड (एसटीसी) ले भने उपलब्ध सीमित कोटालाई व्यवस्थापन गरेर आफ्ना उपभोक्तालाई ग्यास उपलब्ध गराउँदै आएको जनाएको छ। नेपाल आयल निगमबाट एसटीसीले कुल ग्यास आपूर्तिको करिब ३ प्रतिशत मात्रै कोटा पाउँदै आए पनि कम्पनीले नयाँ सिलिन्डर बिक्रीलाई नियन्त्रण गर्दै रिफिल गर्न आएका उपभोक्तालाई प्राथमिकता दिएर आपूर्ति व्यवस्थापन गरेको हो।

साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत बृजेशकुमार झाका अनुसार बजारमा ग्यास अभावको हल्ला चल्नेबित्तिकै उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर एसटीसीले नयाँ सिलिन्डर उपलब्ध गराउन रोक लगाएको हो। त्यसको सट्टा पहिले नै एसटीसी ग्यास प्रयोग गर्दै आएका उपभोक्ताले खाली सिलिन्डर लिएर आएमा उपलब्धताका आधारमा ग्यास भरेर दिने व्यवस्था गरिएको छ।

“कुनै पनि ग्राहकलाई नयाँ सिलिन्डर दिएका छैनौँ। अभावको हल्ला चल्नेबित्तिकै उपभोक्ताले स्टक राख्न सक्ने सम्भावना हुन्छ। त्यसलाई ध्यानमा राखेर नयाँ सिलिन्डर नदिएका कारण रिफिल गर्ने ग्राहकलाई नियमित रूपमा ग्यास दिन सकेका छौँ,” झाको भनाइ छ। उहाँका अनुसार सबै उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन नसकिने अवस्थामा समेत एसटीसीले उपभोक्ताको नाम टिपोट गरेर निश्चित समयभित्र ग्यास उपलब्ध गराउने प्रणाली अपनाएको छ। खाली सिलिन्डर लिएर ग्यास लिन पुगेका उपभोक्तालाई तत्काल ग्यास उपलब्ध नभए दुई–तीन दिनभित्र तथा माग अत्यधिक भएको अवस्थामा बढीमा पाँच दिनसम्मको समय तोकेर ग्यास उपलब्ध गराउने गरिएको छ।

यसरी वितरण व्यवस्थापन गर्दा उपभोक्तालाई लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था कम भएको एसटीसीको दाबी छ। बजारका अन्य स्थानमा ग्यासका लागि लामो लाइन देखिए पनि एसटीसीले सीमित कोटालाई उपभोक्ताको वास्तविक आवश्यकतासँग जोडेर वितरण गर्न खोजेको हो।

  :