६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया



कुनै समयमा निकै नै लोकप्रिय मानिएको सेडान बजारलाई हाल एसयूभी र क्रसओभरको बजारले पछि पारेको छ ।

समयक्रमका साथ वर्तमान प्रतिस्पर्धात्मक अवस्थामा ह्याचब्याकबाट कम्प्याक्ट एसयूभी चाहने ग्राहक बढ्दै गएका र त्यसै अनुसारका सवारी साधन उपलब्ध गराउने धेरै कम्पनी छन् । यद्यपि कम्फर्ट र प्लेजरका लागि सेडान नै रोज्ने ग्राहक पनि उत्तिकै छन् । स्कोडाको लामो प्रिमियम सेडान चाहने ग्राहक पनि उत्तिकै छन् । यसै कुरालाई मनन गरी स्कोडाले सेडान सेगमेन्टका कार उपलब्ध गराइरहेको बताएको छ ।

यद्यपि आफ्नो एक्टिभ लाइफस्टाइलसँग मिल्ने गरी भर्सेटालिटी, स्टोरेज रुम र ग्राउन्ड क्लियरेन्सयुक्त सवारी साधन चाहने ग्राहकको अझै पनि कमी छैन । यसका लागि अझै पनि उपयुक्त सवारी साधनको रुपमा विभिन्न कम्पनीले सेडान कार उपलब्ध गराइरहेका छन् ।

प्रिमियम र एलिगेन्ट लुकका लागि मात्र होइन, लङ ड्राइभमा जादा थकान महसुस नहुने, धेरै लेगरुम र बुट स्पेस हुने जस्ता गुण सेडानमा पाइन्छ । यद्यपि नेपालको सडकका लागि कम ग्राउन्ड क्लियरेन्स हुने भएकाले पहिले केही ग्राहक यस्ता सवारी साधन किन्न हिच्किचाउने गरेको पाइन्थ्यो ।

नेपाली बजारमा दशक देखि नै नम्बर वान सेडान बिक्रेताको पहिचान कायम गरेको स्कोडाले यही कुरालाई मनन गरी अब नयाँ सेडान ‘स्लाभिया’ उपलब्ध गराउने बताएको छ । स्कोडा स्लाभिया भर्सटालिटीका लागि एउटा ठूलो उदाहरण बन्ने छ भने प्रशस्तै स्टोरेज रुम भएको स्लाभिया नेपाली कारप्रेमीका लागि एउटा आवश्यक सवारी साधन बन्ने अपेक्षा कम्पनीले गरेको बताएको छ । यसको १७९ एमएम ग्राउन्ड क्लियरेन्सले सेडान सेगमेन्टमा थप आकर्षण पैदा गर्नेछ ।

भारतमा केही समय पहिले लन्च गरिएको स्कोडा स्लाभिया फिचर र ड्राइभिङ प्लेजरका हिसाबले धेरैले विशेष भएको बताएका छन् । भारतमा पनि घट्दै गएको सेडान बजारलाई यसले एक कदम माथि उठाउने अपेक्षा गरिएको र यसको सुखद संकेत पनि देखिइसकेको छ ।

गत फेब्रुअरी अन्त्यमा लन्च गरिएको स्कोडा स्लाभिया मार्च देखि नै मासिक २ हजार युनिट भन्दा बढी बिक्री भइरहेको छ । मार्चमा २ हजार ६६५, अप्रिलमा २ हजार ४३१, मेमा २ हजार ४६६ र जुनमा २ हजार ७६५ युनिट स्लाभिया बिक्री भएको छ ।

आगामी भदौ ७ देखि प्रारम्भ हुने नाडा अटो शोमा स्कोडा स्लाभिया लन्च गर्ने कार्यक्रम रहेको नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले जनाएको छ । यसको मूल्य ५० लाख रुपैयाँ देखि प्रारम्भ हुने अनुमान गरिएको छ ।

स्कोडा स्लाभिया नेपाली बजारमा एउटा मात्र इन्जिन अप्सन १।० टीएसआई इन्जिनमा उपलब्ध हुनेछ, जसले ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । उक्त सेडान म्यानुअल र अटोमेटिक दुवै अप्सनमा उपलब्ध हुनेछ ।

  :