२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

कृषि, पर्यटन र सामाजिक पूर्वाधार : समृद्ध चाँगुनारायणको मुल आधार



भक्तपुर जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको नगरपालिका हो चाँगुनारायण । प्राकृतिक सौन्दर्यता, सांस्कृतिक धरोहर र मनोरम छटा यस नगरका विशेषता हुन् । ६२ दशमलव ९८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा नौ वटा वडा छन् । यस नगरपालिकाको पूर्वमा काभ्रेको मण्डन देउपुर नगरपालिका, पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका र मध्यपुर ठिमी नगरपालिका, उत्तरमा शंखरापुर नगरपालिका र दक्षिणमा सूर्यविनायक र भक्तपुर नगरपालिका पर्दछन ।


यस नगरपालिकाले सम्वृद्ध सांस्कृतिक सम्पदा बोकेको छ । लिच्छवीकालीन धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर यसै नगरपालिकामा पर्दछ । कलात्मक रुपमा कुँदिएका काठकला र यसको आकृति चाँगुनारायण मन्दिरको मुख्य आकर्षण हो । चाँगुनारायण काठ, ढुंगा र धातुका सुन्दर शिल्पका लागि पनि प्रसिद्ध छ । नेपालको पहिचान झल्काउने सबैभन्दा पुरानो मन्दिर चाँगुनारायण हो । यो मन्दिर करिब १६०० बर्ष पुरानो मानिन्छ । यसको वास्तुकला अत्यन्तै उत्कृष्ट छ । चाँगुनारायण नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने थु्रपै्र सम्भावनाहरु छन् ।

यस चाँगुनारायण नगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरु निकै उपलब्धिमूलक र उदाहरणीय छन् । उत्पादनमूलक आयमूलक, रोजगारमूलक आयोजना तथा कार्यहरु छनोट गरी त्यसबाट आउने प्रतिफल आम जनसमुदायमा सन्तुलित प्रकारबाट पु¥याएर समृद्ध समाजको निर्माण गर्दै आएको छ यस नगरपालिकाले । यस नगरपालिकाले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, कृषि विकास, पर्यटन प्रवद्र्धन, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, पूर्वाधार निर्माण प्रमुख प्राथमिकता दिंदै आएको छ यस नगरपालिकाले । आफ्नै भवन, आफ्नै लोगो र आफ्नै गान यस नगरपालिकाको शान हो ।


विकासको पहिलो स्तम्भ शिक्षा हो । यस नगरपालिकाले शिक्षामा विशेष ध्यान दिंदै आएको छ । शिक्षामा सबै बालबालिकाको सहज पहुँच हुनुपर्छ भन्ने मान्यतालाई अंगिकार गर्दै नगर क्षेत्रभित्रका बिद्यालयहरुका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस नगरपालिकाले प्रशस्तै कामहरु गरेको छ । नगर क्षेत्रमा सामुदायिक बिद्यालयहरुलाई पूर्णरुपमा व्यवस्थित गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणका लागि यस नगरपालिकाले सहयोग गर्दै आईरहेको छ । वचत खाता छोरीको ः सुरक्षा जीवनभरिको नाराका साथ सामुदायिक विद्यालयमा अध्ययनरत सबै छात्राहरुको बैंक खाता खोली वार्षिक रुपमा तोकिएको रकम जम्मा गर्ने व्यवस्था यस नगरपालिकाले गर्दै आएको छ । यस नगरपालिका २०७८ सालमा नै काठमाडौं उपत्यकाको पहिलो बालमैत्री स्थानीय शासन अवलम्बनयुक्त नगरपालिका घोषणा भएको छ ।

कृषिको आधुनिकीकरण, विविधिकरण तथा व्यवसायीकरण गरी आय आर्जनका लागि प्रभावकारी कामहरु भएका छन् यस नगरमा । उन्नत पशुपालन र व्यावसायिक कृषिमा विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न र किसानहरुलाई आत्मनिर्भर बनाउन समयानुकूल मलखाद, बीउविजन र सरल र सुपथ मूल्यमा उपलब्ध गराउने प्रबन्ध नगरपालिकाले गर्दै आएको छ । कृषि र पशुपंक्षी पालनमा दिइने अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै आएको छ यस स्थानीय तहले ।

भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस नगर क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरु भएका छन् । नगर क्षेत्रभित्रका प्रमुख सडकहरु कालोपत्रे गर्ने, सहायक सडकहरुलाई ढलान, ग्राभेल गरेर स्तरोन्नति गर्ने कामहरु भईरहेका छन् ।
जडिबुटी संरक्षण तथा वन विकासका कार्यक्रमहरु पनि यस नगरमा सञ्चालित छन् । बोजिनी ड्याम बहुउद्देश्यीय परियोजना तथा महादेव पोखरी वृहत खानेपानी परियोजना पनि यस नगरमा सञ्चालनमा रहेका छन् ।

स्वास्थ्य क्षेत्रमा यस नगरपालिकाले फडको मारेको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरु प्रविधि र पूर्वाधारयुक्त बन्दै गईरहेका छन । आधारभूत स्वास्थ्यसेवालाई सर्वसुलभ, प्रभावकारी र गुणस्तरीय बनाउन पूर्वाधार विकास, नियमित औषधि, उपकरण आपूर्तिको व्यवस्था गर्दै आएको छ यस स्थानीय तहले । नगरवासीहरुका लागि निःशुल्क रगत र अक्सिजनको व्यवस्था गर्दै आएको छ । विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था पनि यस नगरपालिकाले गर्दै आएको छ ।

चाँगुनारायण क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चाँगुनारायण नगरपालिकाले यहाँका सम्पदादेखि मौलिक संस्कृतिको विकासमा लगानी गर्दै आईरहेको छ । विश्वभरका पर्यटकहरुलाई आकर्षित गर्ने मनोरम प्राकृतिक छटाले सुसज्जित पर्यटकीयस्थल नगरकोट, चाँगुनारायण नगरपालिकाको आकर्षणयुक्त प्रमुख क्षेत्रको रुपमा रहेको छ । सम्पदाहरको संरक्षण तथा संवद्र्धन र पर्यटनको विकासका लागि उपलब्ध स्रोत र साधनको समुचित उपयोग गरेर यस नगरपालिकाले उदाहरणीय र प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।


नगरपालिकाले पर्यटकीय पदमार्ग तथा एक हजार सिंढीको निर्माण गरेको छ । चाँगुनारायण नगर क्षेत्रले पर्यावरणीय, सांस्कृतिक, धार्मिक र कृषि पर्यटनमा थुप्रै सम्भावनाहरु बोकेको छ । यस नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गर्न पुर्वाधार तथा सुविधाहरु उपलब्ध गराउन आवश्यक व्यवस्था गर्दै आएको छ ।

अधिकांश भूभाग भिरालो प्रकृतिको रहेको र मनोहरा खोलासँग जोडिएको हुँदा वर्षेनी आइपर्ने नदी कटान तथा भूक्षय र पहिरो जस्ता जोखिम यस नगरमा चुनौंतीको रुपमा रहेको छ । यस्ता विपद जोखिम न्यूनीकरणमा नगरपालिका लागेको छ ।

उद्यमशिलताको विकासका लागि यस नगरपालिकाले मेयर उद्यमशिलता कार्यक्रम तथा उपमेयर महिला उद्यमशिलता कार्यक्रम सञ्चालन गर्दै आएको छ । सबै वडामा ज्येष्ठ नागरिक मिलन चौतारी सञ्चालनमा छन् ।

सीमित स्रोत साधनबाट नगरवासीहरुको असीमित आवश्यकता एकैसाथ सम्बोधन गर्नु निकै चुनौंतीपूर्ण हुन्छ । यस नगरपालिकाले उपलब्ध स्रोत साधनको न्यायोचित र उच्चतम प्रयोग गर्दै चाँगुनारायणलाई विकासले सुसम्पन्न गर्ने अभियानका साथ अगाडि बढेको छ ।

सुशासन तथा पारदर्शिताका लागि यस नगरपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमको रुपमा अंगीकार गरि त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ । यस नगरपालिकाको न्यायिक समितिमार्फत नगरबासीहरुलाई परेको समस्या नगरमै समाधान हुँदै आएका छन. । न्यायिक समितिमा परेका उजुरीहरु न्यायिक समितिमार्पmत समझदारीमा बिना झञ्झट समाधान भईरहेका छन् ।

स्थानीय तहहरु लोकतन्त्र र सुशासनलाई जनस्तरसम्म पु¥याउने संस्थागत संयन्त्र हुन । स्थानीय तहहरुको सक्रियतामा राज्यले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । नगरवासीहरुको भावनालाई कदर गर्दै जनमुखी कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्दै आएको छ चाँगुनारायण नगरपालिकाले । कृषि, पर्यटन र सामाजिक पूर्वाधार ः समृद्ध चाँगुनारायणको मुल आधार भन्ने नगरको नारालाई सार्थक बनाईरहेको छ यस स्थानीय तहले । नगरवासीका साझा धारणा, माग र आवश्यकताका बिषयमा यस नगरपालिकाका जनप्रतिनिधिहरु सचेत र सजग छन् । सहमति, सहकार्य र भिजनका साथ अगाडि बढेमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण यस चाँगुनारायण नगरपालिकाले दिएको छ ।

  :