७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

अब रोशी गाउँपालिकाबाट नै प्यान सेवा



काठमाडौंको काभ्रेको रोशी गाउँपालिकाले अब व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिन गाउँपालिकाबाट नै उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाबाटै प्यान सेवा उपलब्ध गराउन रोशी गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच द्विपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत अनमोलकुमार दाहाल र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद दाहालले हस्ताक्षर गर्नुभएको छ।

नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीतिअनुरूप बिहीबार समझदारी भएको हो। समझदारीअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रका नागरिक तथा व्यवसायीलाई व्यक्तिगत र व्यावसायिक प्यान जारी गर्नेछ। साथै, भ्याट दर्ताका लागि आवश्यक कागजात जाँच गरी आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।

सेवा सञ्चालनका लागि आन्तरिक राजस्व कार्यालयले गाउँपालिकाका कर्मचारीलाई तालिम, युजर आइडी, पासवर्ड तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। गाउँपालिकाले आवश्यक जनशक्ति र भौतिक स्रोतसाधनको व्यवस्थापन गर्नेछ। गाउँपालिकाबाट सेवा लिँदा संघीय राजस्वमा दाखिला गर्नुपर्ने कर तथा शुल्कबाहेक सेवाग्राहीले अन्य कुनै सेवा शुल्क बुझाउनुपर्ने छैन।

गाउँपालिका अध्यक्ष दिनेश लामाले यस व्यवस्थाले नागरिक तथा व्यवसायीको समय र खर्च बचत हुनुका साथै करसम्बन्धी सेवा लिन धुलिखेलसम्म पुग्नुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो।

  :