१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै



भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको जानकारी दिए ।

३ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बिहान ५ः०० बजे बृहत् योग विज्ञान शिविर सञ्चालन गरिने र अन्तिम दिन विशेष कार्यक्रम आयोजना गरी चाँगु योग ज्योति सन्देश स्मारिक सार्वजनिक एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीबाट योग नगर घोषणा गरिने नगर प्रमुख खत्रीले बताए ।


योग जिल्ला घोषणासँगै नगरपालिकाले प्रत्येक वडादेखि विद्यालयहरूमा योग शिक्षक उत्पादन गर्न प्रशिक्षण सञ्चालन गर्ने र टोलटोलमा योगलाई विस्तार गर्ने पनि नगर प्रमुख खत्रीको भनाई थियो ।


नगरपालिकाले वडाहरूमा नियमित योग शिविर सञ्चालन, विद्यालयहरूमा योग शिक्षा अनिवार्य गर्ने, स्थानीयस्तरमा दक्ष योग प्रशिक्षक उत्पादन गर्ने, योग पार्क एवं ध्यान केन्द्र स्थापना गर्ने, आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गर्दै अभियानलाई सञ्चालन गर्ने योजना ल्याएको छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले ‘पहिलो सुख निरोगी काया’ भन्ने नाराका साथ नगरलाई योग नगर घोषणाले नगरवासीमा उत्साह थपेको बताए । 

  :