२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

बहुप्रतिक्षित मोडल हुन्डाईको क्रेटा ईभी नेपाल भित्रियो, अर्को सातादेखि बिक्री शुरु हुने




काठमाडौं। हुन्डाईको बहुप्रतिक्षित मोडल क्रेटा इभीलाई हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्याएको छ ।

कम्पनीका अनुसार अर्को सातादेखि क्रेटा ईभीको बिक्री शुरु गर्ने तयारी भईरहेको छ । कम्पनीले पहिलो चरणमा ६ युनिट क्रेटा इभी ल्याएको हो। क्रेटा ईभीको मूल्य नेपाली बजारमा साढे ५६ लाख रुपैयाँ हाराहारी पर्ने कम्पनीले जनाएको छ।


हुन्डाई क्रेटा इभीको डिजाइन पेट्रोल इन्जिनसँग मिल्दोजुल्दो छ। यसमा नयाँ ग्रिल, नयाँ हेडलाइट र टेललाइट तथा नयाँ बम्पर राखिएको छ। गाडीमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगायत धेरै सुविधा समावेश छन्।

क्रेटा इभीमा एडास २.० फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता सुविधाहरु पनि छन् । भारतमा जनवरी १७ तारिखमा सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी नेपालमा बहुप्रतिक्षित मोडल हो ।

हुन्डाई क्रेटा इभीमा दुईवटा ब्याट्री विकल्प छन्। एउटा ४२ किलोवाट आवरको ब्याट्री छ जसले करिब ३९० किलोमिटरको रेन्ज दिन्छ। ५१.४ किलोवाट आवरको ब्याट्रीले करिब ४७० किलोमिटर रेन्ज प्रदान गर्छ। अहिले नेपाल आएको गाडीमा ४२ किलोवाट आवरको ब्याट्री छ।

  :