काठमाडौं– चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले सान इन्टरनेशनल कलेज चन्द्रागिरि नगर क्षेत्रमा स्थानान्तरण भएसँगै नगरको शिक्षा क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो ।
सान ईन्टरनेशनल कलेजले आफ्नो स्थापना दिवसको २५ औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख गिरीले नगरपालिकालाई शैक्षिक हबका रुपमा विकास गर्न निजी तथा संस्थागत शैक्षिक संस्थाको अतुलनीय योगदान रहेको बताउँदै प्रमुख गिरीले सान कलेजमा प्राविधिक धारका विषय अध्ययन अध्यापन हुनु नगरका लागि मात्र नभइ देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पसका अध्यक्ष डा. सुवास घिमिरेले २५ औं वर्षको शैक्षिक यात्रामा सान ईन्टरनेशनल कलेजलाई विश्वास र साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।
अध्यक्ष घिमिरेले कलेजमा नयाँ कार्यक्रम लागु भएसँगै प्राविधिक शिक्षा प्राप्तिका लागि सान कलेज उत्कृष्ठ गन्तव्य भएको धारणा राख्नुभयो । वैदेशिक उच्च शिक्षाको विकल्पका रुपमा सान कलेजले नेपालमै विश्वस्तरीय प्राविधिक विषयहरू पठन पाठन गरिरहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
कार्यक्रममा क्याम्पसका कार्यकारी निर्देशक कर्ण बहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए भने दुर्गा तामाङ, अनुष्का चौधरी, एञ्जेल गमालले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बायोटेक, बीबीएका विद्यार्थीहरोइलाई विदाई तथा कक्षा ११, बीबीए, ल, सीएसआईटी, एमबीएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको थियो । त्यस्तै, क्याम्पसका विद्यार्थीहरूद्वारा गीत, कविता, विविध साँस्कृतिक नृत्य र नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सान कलेजबाट पछिल्लो शैक्षिक वर्षमा कक्षा १२, स्नातक तह तथा स्नातकोत्तर तह उत्तीर्ण सयाैं विद्यार्थीहरू दीक्षित गरिएका थिए । सो क्रममा पछिल्लो एक वर्षमा क्याम्पसले सञ्चालन गरेका विभिन्न गतिविधिमा उत्कृष्ठ भएका विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । सान इन्टरनेशनल कलेज चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ नैकाप स्थित आफ्नै भवनमा सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया