काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यका साथ शशिला मोटर्स प्रालिले १८ मिटर लामो ‘आर्टिकुलेटेड’ विद्युतीय बस भित्र्याउन प्रक्रिया शुरु गरेको छ । ‘आर्टिकुलेटेड’ विद्युतीय बस भनेको दुईवटा डिब्बा जस्तै जोडिएको, बीच भागमा मोड्न (लचकदार) मिल्ने र धेरै यात्रु बोक्न सक्ने सार्वजनिक सवारी साधन हो। ट्राफिक जाम कम गर्न र शहरी यातायातलाई व्यवस्थित बनाउन यस्ता बस निकै प्रभावकारी मानिन्छन्।
चीनको प्रसिद्ध ‘फेन्सर’ कम्पनीले उत्पादन गरेको यो आर्टिकुलेटेड बसमा ६४ वटा आरामदायी सिटहरू रहनेछन् । उभिएर यात्रा गर्ने यात्रुसहित यसले एकैपटक २२० जनासम्मलाई गन्तव्यमा पु¥याउन सक्ने कम्पनीले जनाएको छ । यस बसमा ८०० किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको छ । लो–फ्लोर डिजाइन भएकाले वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू सजिलै चढ्न र ओर्लन सक्छन् ।
१८ मिटर लामो गाडीका लागि पर्याप्त पार्किङ स्पेस, ८०० किलोवाटको ब्याट्री चार्ज गर्ने पूर्वाधार र उपयुक्त सडक कन्डिसन लगायतका केही चुनौंतीहरु छन् तर हाल यो बस उपत्यकाको चक्रपथ (एयरपोर्टदेखि कलंकीसम्म) सजिलै सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।
एडीबीको प्रतिवेदन र सरकारी योजनाको साथ एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सन् २०१४ मा तयार पारिएको ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ (केएसयूटीपी) को प्रतिवेदनले उपत्यकाका मुख्य (प्राथमिक) रुटहरूमा १२ देखि १८ मिटर लामा बसहरू चलाउन सुझाव दिएको छ । सरकारले त्यसलाई कार्यान्वयन गर्ने हो भने हामी उक्त बस तत्कालै ल्याउन तयार छौं, शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए ।
सोही सुझाव र हालै सरकारले बजेटमार्फत सार्वजनिक यातायात सुधारमा देखाएको चासोलाई मध्यनजर गर्दै शशिला मोटर्सले यो बस भित्र्याउने प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया