काठमाडौँ—एनसेल र बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच सवारी साधनमा कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि सम्झौता भएको छ ।
यो साझेदारीसँगै अब नेपालमा बिक्री हुने बीवाईडीका प्रत्येक सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडित हुनेछन् जसबाट ग्राहकहरूलाई अझ सहज र डिजिटल्ली कनेक्टेड ड्राइभिङ अनुभव प्राप्त गर्न सक्नेछन्।
गाडीमा आईओटी सिम जडान भएपछि बाह्य उपकरण वा मोबाइल वाई–फाई हटस्पटमा निर्भर नभई एनसेलको देशभर फैलिएको नेटवर्कमार्फत सीधा इन्टरनेट सेवा उपलब्ध हुनेछ । फोन कनेक्ट नगरीकनै गाडीको इन्फोटेनमेन्ट सिस्टमबाट युट्युब, स्पोटिफाइ, काराओके जस्ता अनलाइन सेवाहरूको सीधा प्रयोग गर्न सकिनेछ । यसका साथै बीवाईडीका आफ्नै इन–कार एपहरू र कनेक्टेड सुविधाहरू सहज रूपमा सञ्चालन हुनुका साथै यात्राको क्रममा वा ट्राफिक जाममा हुँदा पनि रियल–टाइम जिपिएस नेभिगेसन थप भरपर्दो र सुचारु हुनेछ ।
यो सुविधा नयाँ गाडी किन्ने ग्राहकहरूका लागि मात्र नभई पुराना बीवाईडी धनीहरूका लागि पनि उपलब्ध गराइएको छ । पुराना ग्राहकहरूले नेपालभर रहेका १३ वटा आधिकारिक बीवाईडी सर्भिस सेन्टरमा गएर आफ्नो गाडीमा एनसेल आईओटी सिम जडान गरी यी सुविधाहरू उपभोग गर्न सक्नेछन् । सम्बन्धित प्लान, समयावधि र शुल्क विवरण भने सवारी साधनको मोडल र रोजिएको सेवा प्याकेज अनुसार फरक पर्ने कम्पनीले जनाएको छ ।
सम्झौताका क्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले आईओटी सेवासम्बन्धी यो साझेदारीले बीवाईडी सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा दिने बताए । बीवाईडी एप र लोकप्रिय सेवाहरूका लागि प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध गराएर प्रयोगकर्ताहरूलाई बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर नभई कनेक्टेड रहन मद्दत पुग्ने उनको भनाइ थियो ।
त्यस्तै साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी सधैँ प्राविधिक नवप्रवर्तनको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै एनसेलसँगको सहकार्यले ग्राहकहरूको अनुभवलाई अझ उन्नत बनाउने बताए ।







प्रतिक्रिया