४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

एलपी ग्यासको आपूर्तिलाई सुलभ र सहज बनाउन साल्ट ट्रेडिङको विशेष व्यवस्था



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्तिलाई सुलभ र सहज बनाउन विभिन्न कदमहरू चाल्दै आएको छ।

बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा बजारमा ग्यासको अभाव देखिँदा साल्ट ट्रेडिङले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन विशेष व्यवस्था गरेको छ। ग्यासको आपूर्तिलाई छिटो र प्रभावकारी बनाउन साल्ट ट्रेडिङले निजी ग्यास बोटलिङ उद्योगहरूसँग सहकार्य गरिरहेको छ।

साल्ट ट्रेडिङले अभावका बेला पनि उपभोक्ताले सहजै ग्यास पाउन सकून् भन्ने उद्देश्यले निजी प्लान्टहरूमा एसटीसी सिलिन्डर भरेर बजारमा पठाउने कार्य गरिरहेको छ । उपभोक्ताहरूले साल्ट ट्रेडिङको काठमाडौँस्थित कालीमाटी डिपो, कोटेश्वर शाखा तथा देशभर रहेका अन्य आधिकारिक बिक्री केन्द्रहरू र डिलरहरू मार्फत सुलभ दरमा ग्यास खरिद गर्न सक्ने पनि कम्पनीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा धादिङको जुगेखोलास्थित साल्ट ट्रेडिङको एलपी ग्यास प्लान्टमा ग्यास बुलेट पुग्न नसकेपछि कर्पोरेसनले पहुँच सहज भएका निजी ग्यास उद्योगसँग सहकार्य गरेर आफ्ना सिलिन्डर भर्न थालेको हो।

कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले निजी ग्यास उद्योगका प्लान्टमा एसटीसीका खाली सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था गरिएको जानकारी दिए। साल्ट ट्रेडिङका लागि छुट्याइएका केही एलपी ग्यास बुलेटसमेत आफ्नै प्लान्टमा लैजान नसकिने अवस्था आएपछि निजी उद्योगतर्फ पठाइएको छ। यसबाट राजमार्ग अवरुद्ध रहेकै अवस्थामा पनि उपभोक्तालाई ग्यास उपलब्ध गराउने प्रयास गरिएको साल्ट ट्रेडिङले जनाएको छ।

साल्ट ट्रेडिङले आपूर्ति व्यवस्थापनमा विभिन्न उपाय अपनाए पनि नेपाल आयल निगमले उपलब्ध गराउने ग्यासको कोटा न्यून भएकाले पर्याप्त मात्रामा बजारमा पठाउन समस्या रहेको जनाएको छ।

  :