काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीपीडित व्यवसायिका लागि राहत, कर छुट, भन्सार महसुल छुट, ऋण तथा ब्याजमा सहुलियत र बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको हो ।
नेपाल–चीन सीमाक्षेत्रमा यहि भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा उद्योग, व्यापार, व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले व्यवसाय पुनरुत्थानको पहिलो चरणअन्तर्गत यस्तो प्याकेज ल्याएको हो ।
क्षतिग्रस्त व्यावसायिक सवारी पुनः आयातमा महसुल छुट दिने निर्णय सरकारले गरेको छ ।
बाढीका कारण मर्मत तथा सम्भार गर्न नसकिने गरी क्षतिग्रस्त भएका वा बाढीले बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानी साधनका धनीलाई सरकारले राहत दिने भएको छ । त्यस्ता सवारी तथा ढुवानी साधनको पुरानो दर्ता खारेज गरी सोही प्रकृतिको नयाँ साधन पुनः आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट दिइनेछ । यस व्यवस्थाले बाढीबाट सवारी साधन गुमाएका व्यवसायीलाई नयाँ सवारी खरिद गरी व्यवसाय पुनः सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा पनि सरकारले गरेको छ ।







प्रतिक्रिया