२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

TVS Motor Company द्वारा नेपालकै पहिलो 150cc Hyper Sport Scooter, TVS NTORQ 150 सार्वजनिक



काठमाडौं । TVS Motor Company ले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा TVS NTORQ 150 सार्वजनिक गरेको छ। कम्पनीले यसलाई नेपालकै पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ।

काठमाडौंको नक्सालमा आयोजित कार्यक्रममा TVS Motor Company तथा जगदम्बा मोटर्सका प्रतिनिधि, अटोमोबाइल क्षेत्रका सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर तथा अन्य सरोकारवालाको सहभागितामा नयाँ स्कुटर सार्वजनिक गरिएको हो।

१४९.७ सीसीको एयरकुल्ड रेस–ट्युन इन्जिन रहेको NTORQ 150 ले ७ हजार आरपीएममा १३.२ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले ६.३ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ।

स्कुटरको डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। यसमा मल्टिपोइन्ट प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङलेट्स, स्पोर्टी टेल ल्याम्प, कलर्ड एलोय ह्विल, नेकेड ह्यान्डलबार र स्पोर्ट–ट्युन सस्पेन्सनलगायतका विशेषता छन्। अगाडिको भागलाई एरोहेड शैलीमा डिजाइन गरिएको छ भने ‘टी’ आकारको टेल ल्याम्प र सिग्नेचर मफलरले यसको स्पोर्टी स्वरूपलाई थप आकर्षक बनाउने कम्पनीको दाबी छ।

TVS SmartXonnect प्रविधिसहित आएको NTORQ 150 मा ५० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर उपलब्ध छन्। यसमा टर्न–बाइ–टर्न नेभिगेसन, अन्तिम पटक पार्क गरिएको स्थान पत्ता लगाउने सुविधा, कल तथा म्यासेज अलर्ट र विभिन्न राइड मोडललगायतका सुविधा छन्।

सुरक्षातर्फ सिंगल च्यानल एबीएससँगै सेग्मेन्टमै पहिलो ट्र्याक्सन कन्ट्रोल उपलब्ध रहेको कम्पनीले जनाएको छ। हाजार्ड ल्याम्प र फलो–मी हेडल्याम्प पनि राखिएको छ।

दैनिक प्रयोगलाई सहज बनाउन टेलिस्कोपिक सस्पेन्सन, एड्जस्टेबल ब्रेक लेभर, पेटेन्टेड ई–जी सेन्टर स्ट्यान्ड तथा २२ लिटरको अन्डर–सिट स्टोरेज दिइएको छ।

TVS Motor Company का इन्टरनेसनल बिजनेस प्रेसिडेन्ट पेमान कार्गरले प्रदर्शन, प्रविधि र फरक डिजाइनको संयोजनका कारण NTORQ ब्रान्डले विश्वका विभिन्न बजारमा बलियो उपस्थिति बनाएको बताउनुभयो। विभिन्न बजारमा प्राप्त सफलताले राइडरहरूले ब्रान्डप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गर्ने उहाँको भनाइ थियो।

त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले सन् २०१८ मा नेपालमा TVS NTORQ सार्वजनिक भएदेखि नै यसले नयाँ पुस्ताको कनेक्टेड स्कुटरका रूपमा आफ्नो पहिचान बनाउँदै आएको बताउनुभयो। ग्राहकको निरन्तर विश्वाससँगै जगदम्बा मोटर्सको देशव्यापी बिक्री, सेवा तथा स्पेयर पार्ट्सको सञ्जालले पनि NTORQ को यात्रामा महत्वपूर्ण भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा NTORQ 150 को सार्वजनिकसँगै प्रदर्शनमुखी स्कुटर रुचाउने ग्राहकका लागि नयाँ अध्याय सुरु भएको बताउनुभयो। हाइपर स्पोर्ट विशेषता, रेस–ट्युन प्रदर्शन, आधुनिक प्रविधि र फरक डिजाइनले TVS Motor Company का विश्वव्यापी प्रविधि तथा नवप्रवर्तन नेपाली ग्राहकसम्म ल्याउने प्रतिबद्धता प्रतिबिम्बित गर्ने उहाँको भनाइ थियो। नयाँ स्कुटरले देशभरका राइडरबाट उत्साहजनक प्रतिक्रिया पाउने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो।

TVS NTORQ 150 स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लू गरी तीन रङमा उपलब्ध छ। यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

स्कुटर देशभरका जगदम्बा मोटर्सका डिलरशिपमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ। नयाँ मोडलसँगै नेपाली बजारमा NTORQ ब्रान्डको स्पोर्टी तथा कनेक्टेड स्कुटरको दायरा थप विस्तार हुने कम्पनीको अपेक्षा छ।

  :