७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टाटा मोटर्सद्वारा कर्भ र कर्भ ईभी सार्वजनिक




काठमाडौं–टाटा मोटर्सले कर्भ र कर्भ ईभी सार्वजनिक गरेको छ । कम्पनीले टाटा कर्भ ईभीलाई पहिले लन्च गर्ने, त्यसपछि आईसीई संस्करण ल्याइने पुष्टि गरेको छ । कम्पनीले कारको मूल्य अगस्ट ७ मा घोषणा गर्नेछ । टाटाले अहिलेसम्म कर्भको आधिकारिक बुकिङ सुरु गरेको छैन ।

टाटा कर्भ भारतको पहिलो एसयूभी कुपे हुनेछ । दुबै कारको बम्परमा एलईडी डीआरएल र एलईडी हेडलाइट सेटअप जडान गरिएको छ । कर्भ ईभीको अगाडि टाटा पन्च जस्तै चार्जिङ फ्ल्याप समावेश गरिएको छ । कर्भ आईसीईको साइडमा पेटल आकारको ड्युअल टोन अलोय ह्विल र कर्भ ईभीमा एरोडायनामिक शैलीको अलोय ह्विल उपलब्ध गराएको छ । फ्लस आकारको डोर ह्यान्डल भएको कर्भ टाटाको पहिलो कार हो । सो दुबै संस्करणको पछाडि कनेक्टेड एलईडी टेल लाइट सेटअप दिइएको छ ।

कर्भ ईभीलाई टाटाको नयाँ एक्टिभ।ईभी प्लेटफर्ममा डिजाइन गरिएको छ । यसको लम्बाई ४३०८ एमएम, चौडाई १८१० एमएम, उचाइ १६३० एमएम र ह्विलबेस २५६० एमएम छ ।

इलेक्ट्रिक कर्भको ब्याट्री प्याक र मोटरसँग सम्बन्धित कुनै जानकारी सार्वजनिक गरिएको छैन । तर, सो एसयूभीको रेन्ज ५०० किलोमिटरभन्दा बढी हुने अपेक्षा गरिएको छ । यसमा दुई वटा ब्याट्री प्याक हुनेछ ।

एसयूभीमा सेफ्टीका लागि ६ एयरब्याग, ब्लाइन्ड स्पट मोनिटरसहितको ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ सेन्सर र इलेक्ट्रोनिक स्थिरता नियन्त्रण जस्ता फिचर हुनेछ । यसमा लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम पनि प्रदान गर्न सकिने अनुमान छ ।

कर्भ एसयूभी कुपेको आईसीई संस्करणमा १.५ लिटर ४ सिलिन्डर डिजेल इन्जिन हुनेछ, जसले ११३ बीएचपी पावर र २६० एनएमको पीक टर्क जेनेरेट गर्नेछ । ट्रान्समिसनका लागि यसलाई ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिनेछ। टाटा कर्भ यस वर्ष लन्च हुने अपेक्षा गरिएको छ।

  :