७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भलिबल खेलाडी ज्याकुशा थापा ललितपुर क्विन्समा छनोट




काठमाडौं– ललितपुर नखिपोटकी ज्याकुशा थापा ललितपुर क्वीन्सको तर्फबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने अवसर पाएकी छिन् । जावलाखेल भलिबल तालिम केन्द्रमा भएको ट्यालेन्ट हन्ट कार्यक्रममार्फत ज्याकुशा ललितपुर क्विन्सको टोलीमा छनोट भएकी हुन् । ट्यालेन्ट हन्ट कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो ।

उनको आगमनसँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ । ललितपुर क्विन्सले विदेशी खेलाडी पनि अनुबन्ध गरेको बताइएको छ । विदेशी खेलाडीको विवरण भने केही दिनमा सार्वजनिक गर्ने ललितपुर क्विन्सले जनाएको छ । बाल्यकाल सिंगापुरमा बिताएकी ज्याकुशा हाल जेम्स स्कूलमा कक्षा १२ मा पढ्दैछिन् । उनका बुवा सिंगापुर प्रहरी भएका कारण उनको बाल्यकाल सिंगापुरमा बितेको हो ।

सन् २०२२ मा सेवानिवृत भएपछि उनको बुवा सपरिवार नेपाल फर्किएका हुन् । सानैदेखि भलिबल खेलमा रुचि भएकी ज्याकुशाले पहिलो पटक व्यावसायिक भलिबल खेल्न लागेकी हुन् । ठूलो प्रतियोगिताबाट आफ्नो खेल करियर शुरु गर्न पाउँदा आफू निकै उत्साहित भएको ज्याकुशाले प्रतिक्रिया दिएकी छिन् । अवसर प्राप्त भएको छ, यसलाई सदुपयोग गर्छु, ज्याकुशाको भनाई छ ।

  :